आफैं विद्युत उत्पादन गर्दै अर्घाखाँची सिमेन्ट

उत्पादन क्षमता पनि बढाउँदै



परिवर्तन देवकोटा, भैरहवा

नवलपरासीको अरूणखोला घर भएका प्रकाश भण्डारी विगत ८ वर्षदेखि अर्घाखाँची सिमेन्ट उद्योगमा काम गर्दै आइरहनुभएको छ । कम्यूटर विभाग सम्हाल्दै आउनुभएका उहाँ कम्पनीको शुरूवाती चरणदेखि नै काम गर्दै आएको बताउनुहुन्छ ।

आफूसहित छ जनाको परिवार पाल्नका निम्ति उहाँ त्यहाँ कार्यरत हुनुहुन्छ । कम्पनीले राम्रोसँग खान, लाउन दिनुका साथै आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि बीमा पनि गरिदिएको बताउँदै नेपाल समाचारपत्रसँग उहाँ भन्नुहुन्छ, ‘कम्पनीले खान, लगाउन, बस्न दिएको छ । हामी कसैलाई नराम्रो छैन । अझै त मेरो बीमासमेत गरिदिएको छ ।’

कम्पनीले आफूलाई वर्षमा ३१ दिन बिदा दिने गरेको उहाँले सुनाउनुभयो । कम्पनीले राम्रो पारिश्रमिक दिएपछि उहाँ सन्तुष्ट देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘शनिबार मेरो बिदा हो, तर म आएर काम गर्छु, कम्पनीले मलाई त्यस दिनको छुट्टै पारिश्रमिक दिन्छ ।’

यस्तै, कम्पनीकै अर्का कर्मचारी विपत्ती थारू विगत १० वर्षदेखि त्यस उद्योगमा काम गर्दै आउनुभएको छ । ११ जनाको परिवार पाल्नका लागि आफूले विगत १० वर्षदेखि यहाँ काम गरेको सुनाउनुभयो ।

रुपन्देहीको सियारी गाउँपालिका–२की उहाँलाई कम्पनीमा काम गरेपछि घरखर्च टार्न कुनै समस्या भएन । उहाँ निकै सन्तुष्टका साथ काम गर्दै आउनुभएको सुनाउनुहुन्छ । ‘कम्पनीले बिदा दिन्छ, बीमा गरिदिन्छ, यसले गर्दा हामीलाई सहज भएको छ,’ उहाँले सुनाउनुभयो ।

प्रकाश र विपत्ती प्रतिनिधि कर्मचारी मात्रै हुनुहुन्छ, अर्घाखाँची सिमेन्ट उद्योगले हालसम्म उहाँहरूजस्तै प्रत्यक्ष र अप्रत्यक्ष गरि एघार सयभन्दा बढी जनशक्तिलाई रोजगार दिँदै आएको छ ।

अत्याधुनिक प्रविधियुक्त सो कम्पनीले यती धेरै दक्ष जनशक्ति उत्पादन गरेकोमा गर्व गर्दै उद्योगका महाप्रबन्धक उद्धव बहादुर कार्कीले भन्नुभयो, हामीसँग काम गरेका कतिपय जनशक्तिहरूले अहिले उद्योग सम्हालेर बसिरहनुभएको छ, यसमा हामी खुशी छौं र सन्तुष्ट पनि ।’

स्थानीयदेखि छिमेकी मुलुक भारतको विभिन्न शहरहरूबाट समेत दक्ष जनशक्ति झिकाइएको बताउँदै उहाँले आफूहरूले सामाजिक उत्तरदायित्वको काम पनि भरपुर गरेको उल्लेख गर्नुभयो ।

स्थापनागत इतिहास

अर्घाखाँची सिमेन्ट उद्योगको स्थापना वि.सं. २०६७ सालको फागुनमा गरिएको थियो । सञ्चालक पशुपति मुरारकाले आफूहरूले निकै मेहनतका साथ काम गरेकाले देशमा पकड जमाउन सकेको दावी गर्नुभयो ।

स्थापना कालदेखि हालसम्ममा उद्योगले ११ सयभन्दा बढी जनशक्तिलाई रोजगारी दिएको बताउँदै महाप्रबन्धक कार्कीले रूपन्देहीको कारखानामा ३ सय ८५ जना तथा केन्द्रिय कार्यलय र अन्य विभिन्न स्थानमा गरि ११ सयभन्दा बढी जनशक्तिलाई रोजगारी उपलव्ध गराएको जानकारी गराउनुभयो ।र्घाखाँची सिमेन्ट उद्यँेग ३२ विघा जमिनमा सन्चालन भइरहेको छ ।

दैनिक छ हजार टन क्लिङ्कर उत्पादन

यस उद्योगले दैनिक छ हजार टन क्लिङकर उत्पादन गर्दै आएको छ । महाप्रबन्धक कार्कीका अनुसार, दैनिक १५ सय टन क्लिंकर भने उद्योगले बाह्य क्षेत्रमा बिक्री गर्दै आइरहेको छ ।

‘कम्पनीले उत्पादन गरेको सबै क्लिङ्कर खपत गर्दैन जसका कारण बिक्रीसमेत गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले ५० प्रतिशतमात्र प्रयोग गर्छौं अरू ५० प्रतिशत क्लिङ्कर भने अन्य सिमेन्ट कारखानालाई बिक्री गर्छांै ।’

उत्पादन क्षमता बढाइंदै

७ सय करोड लगानीमा सञ्चालित सो उद्योगको ९० हजार टन क्लिङ्कर उत्पादन क्षमता भएको नेपाल उद्यँेग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका अध्यक्ष पशुपति मुरारका बताउनुहुन्छ ।

उहाँका अनुसार, यस उद्योगले अबको २ देखि ३ वर्षमा १ लाख ६० हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उच्च प्रविधिको प्रयोग

अर्घाखाँची सिमेन्टको विशाल उद्योगमा जर्मन प्रविधिबाट सञ्चालित मेशिनहरू प्रयोग गरिएको छ । उत्पादन, प्याकिङदेखि उद्योगका अधिकांश कामहरू यी मेशिनहरूले ‘अटोमेटिक’ रूपमा सम्पन्न गर्छन् ।

‘उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरेर धेरैभन्दा धेरै उत्पादन गर्नेतर्फै हाम्रो ध्यान आकर्षित छ, हामी अहिले अटोमेटिक मेशिनबाट काम गरिरहेका छौं,’ मुरारकाले भन्नुभयो, ‘यसरी काम गर्दा जनशक्तिलाई पनि निकै नै सहज हुने रहेछ ।’

उहाँले गुणस्तरीय प्रविधि प्रयोग गरेका कारण वातावरणमा कुनै असर नपरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले यस कम्पनीमा गुणस्तरीय मेसिनहरूको प्रयोग गरेका छौं जसले गर्दा वातावरणलाई कुनै प्रकारको असर गरेको छैन ।’

मुलुकभर विस्तार

अर्घाखाँची सिमेन्ट उद्योग विस्तार भई मुलुकभर फैलिसकेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाइसकेको यस उद्योगले बाँकको कोहलपुर, पोखरा, काठमाडौंलगायत अन्य जिल्लाहरूमा डिलर कार्यालय स्थापना गरिसकेको छ ।

आफ्नै विद्युतले चल्छ उद्योग

सरकारले दिएको विजुलीले मात्रै पर्याप्तता नदेखेपछि यस उद्योग आफैंले विजुली उत्पादन गर्ने र खपत गर्ने यो मुलुककै पहिलो उद्योग हो ।

सिमेन्ट उत्पादन गर्दा उत्सर्जन हुने तातो हावाबाट २ दशमलव ५ मेगावाटको बिजुली उत्पादन गर्ने प्रविधि जडान गरेको छ ।

अहिले १ मेगावाट विजुली उत्पादन गरेर कारखानामै प्रयोग गरेको अध्यक्ष मुरारकाको भनाइ छ ।
यस उद्योगले हाल नेपाल विद्युत प्राधिकरणबाट १० मेगावाट विद्युत खरिद गर्दै आएको छ ।

सञ्चालक मुरार्काले सरकारले ठूला उद्योगहरूमा पनि विद्युतको सहज आपूर्ति गर्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘नेपाल विद्युतमा आत्मनिर्भर हुन लागेको बेलामा हामीजस्ता ठूला कम्पनीहरूलाई पनि विद्युत उपलब्ध गराउनतर्फ पनि सरकारले ध्यान दिनु जरूरी छ,’ उहाँले भन्नुभयो ।

निर्यातका लागि सरकारी सहयोगको खाँचो

पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको सञ्चालक मुरारकाले बताउनुभयो । उहाँले अब सिमेन्टको बजार भारततर्फ आकर्षित हुने बताउँदै सरकारले भारतसँगको व्यापारका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्