ज्येष्ठ नागरिकलाई सम्मान



शिक्षा पन्त, लमजुङ।

बेंसीशहर नगरपालिका–८ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत वडाभित्रका ७० वर्ष उमेर पूरा भएका नागरिकलाई सम्मान गरेको हो। कार्यक्रमको आयोजना गरी १ सय १२ जना ज्येष्ठ नागरिकलाई थर्मस प्रदान गरेको छ।

पुसको चिसो मौसममा थर्मस पाएसँगै खुसी हुँदै ज्येष्ठ नागरिककले तातो पानी, चिया खान सजिलो हुने बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमख अर्यालले ज्येष्ठ नागरिकले घर परिवार समाज र देशलाई दिएको योगदानको सबैले कदर र उच्च सम्मान गर्नुपर्ने भन्दै आफ्नो भनाइ राख्नुभयो।

परिश्रमबाट आफ्ना सन्तानलाई योग्य र सक्षम बनाएका कतिपय ज्येष्ठ नागरिक वृद्धा अवस्थामा आफ्नै सन्तानबाट अपहेलित हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। प्रत्येक व्यक्ति वृद्ध अवस्थाबाट गुज्रनु पर्ने भएकाले ज्येष्ठ नागरिकलाई अपहेलना नभई सम्मानजनक व्यवहार गर्नुपर्ने र उनीहरूको सम्मान नै सन्तानको पहिलो कर्तव्य भएको नगरप्रमुख अर्यालले भनाइ थियो।

विशेष अतिथि नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरूको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले आत्मसाथ गर्दै सिकाइको रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य कमला केसी र नारायणस्थान टोल विकास समीतिका अध्यक्ष बालकृष्ण श्रेष्ठले वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको भन्दै स्थानीय तहले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथामिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

बेंसीशहर–८ ले चालू आर्थिक वर्ष ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ५० हजार बजेट छुट्टाएको थियो। थोरै बजेटमा सोंचेजस्तो कार्य गर्न नसके पनि सबैले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन उक्त कार्यक्रम आयोजना गरेको वडाध्यक्ष पवित्रा थापा रानाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्