लक्षित वर्गलाई पहिलो प्राथमिकता



बालकुमारी बस्नेत
उपप्रमुख
नलगाड नगरपालिका

सात वर्षसम्म सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरेकी बालकुमारी बस्नेतले स्थानीय तहको चुनावमा सामाजिक परिचालनको कामलाई बिट मार्दै नलगाड नगरपालिकाको उपप्रमुखजस्तो पदमा पूर्वमाओवादी पार्टीबाट उम्मेदवार भएर चुनाव जित्नुभयो। राजनीतिक, सामाजिक र स्थानीय सरकार सञ्चालनको राम्रो अनुभव भएकी नगर उपप्रमुख बालकुमारी बस्नेतसँग नेपाल समाचारपत्रका लागि वासुदेव शर्माले गरेको कुराकानीको सारंश :-

राजनीतिमा किन लाग्नुभएको हो ?

आफूजस्तै गाउँका महिलाहरूले बोल्न नपाउने सरकारबाट सेवा सुविधा नपाउने कुनै सभासमारोहमा जान नपाउने, शिक्षालगायतका आवश्यक कुराहरूमा महिला आफ्नो हकहितबाट वञ्चित भएको देखेर महिलालगायत समाजमा पछाडि परेका वर्गको हक अधिकार स्थापित गर्नका लागि लागेकी हूँ।

राजनीतिक जीवन कसरी बिताउनुभयो ?

२०५४ सालदेखि राजनीतिमा लागेर संघर्ष गर्दै राज्य परिवर्तनका लागि हरेक लडाइँलाई छिचोल्दै जीवनमा आएका कठीन कामको सामना गर्दै पार गरियो शान्ति प्रक्रिया आएपछि राम्रो महशुस गरेकी छु।

तपाईं नगरको उपप्रमुखमा आएपछि समाजमा पछाडि परेका वर्गको उत्थान गर्न के प्रयास गर्नुभयो ?

आफूले नसोचेको ठाउँमा आउन पाउँदा ज्यादै खुसी र भाग्यमानी ठानेको छु। जनताले दिएको विश्वासलाई सहज रूपमा बहन गरी महिला भएको नाताले समाजमा पछाडि परेका महिला तथा लक्षितवर्गको हकहित स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छु। न्याय नपाएका महिलालगायत लक्षित वर्गलाई न्यायोचित रूपमा न्याय प्रदान गरेकी छु।

लक्षितवर्गको सीप तथा क्षमता विकासका लागि नगरसभाबाट नीतिनियमलगायत आवश्यक बजेट विनियोजन गर्ने अवसर पाएकी छु, लक्षितवर्गको क्षमता विकास हुने योजना निर्माण गरेकी छु। जनताले दिएको जिम्मेवारीलाई सही तरिकाले समाधान गरेकी छु, अझै निरन्तरता गर्नेछु।

राजनीतिमा लागेको मान्छे कसरी सामाजिक परिचालनको क्षेत्रमा आउनुभयो ?

त्यतिबेला मेरो साविकको भगवती गाविस हाल नलगाड नगरपालिका–१३ मा पढे लेखेको महिला प्रायः कोही थिएनन् मैले एसएलसी पास गरेकी थिएँ, सदरमुकाम खलंगामा रहेको युवा जागरण विकास केन्द्र नेपालले साविकको भगवती गाविसमा काम गर्नलाई महिलाको कोटा खोलेको थियो ।त्यसमा फारम भरी परीक्षा दिएर पास भएँ अनि सामाजिक परिचालनको क्षेत्रमा आएकी हुँ।

तपाईंले कति वर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गर्नुभयो ?

मैले २०६८ देखि २०७३ सालसम्म करिब ६ वर्ष सामाजिक परिचालकको काम गरे, सबैसँग परिचित हुने मौका मिल्यो, स्थानीय नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने अवसर प्राप्त भयो। आफ्ना कुराहरू प्रष्टसँग व्यक्त गर्ने अवसर प्राप्त भयो, मेरो राजनीतिलाई थप बलियो बनाउदै गएँ।

जनतालाई परेको समस्या समाधानका लागि आफूबाट गर्न सक्ने सहयोग जनताको समस्या आफ्नो समस्या हो भन्ने सिकाइ भयो। समस्या समाधानमा लागेर आज यो स्थानमा आउन सफल भएकी छु।

नलगाड नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सँगसँगै स्थानीय सरकारको न्यायिक समितिको संयोजक हुने अवसर प्राप्त भयो? न्यायिक समितिले गर्ने काम कसरी गर्नुभएको छ ?

नलगाड नगरपालिकाको उपप्रमुख हुने अवसर पाएँ यो खुसीको कुरा हो। मानिसलाई अवसर सँगसँगै चुनौती पनि त्यतिकै आउँदा रहेछन्। कर्मचारीतन्त्रले खाएको देश राम्रो काम गरौं भन्दा पनि कर्मचारीहरू प्रर्याप्त नहुदाँ सरकारले खटाएका कर्मचारीहरू समयमा नआउने कार्यरत कर्मचारीहरूले पनि समय नदिने गरेकाले सबै क्षेत्रमा आवश्यक पर्ने नीतिनियम निर्माण गरिरहेका छौं।

नगरपालिकाले निर्माण गरेका नीतिनियमअनुसार अगाडि बढ्ने छौं। राज्यले जिम्मेवारी दिए पनि शुरुमा जनताहरू न्याय सेवाका लागि त्यति आउँदैनथे अहिले नगरपालिकाबाटै न्याय पाइन्छ भन्ने विश्वास भएपछि न्याय खोज्दै आउने गरेका छन्।

नगरपालिकामा रहेका अलि विज्ञ कर्मचारीको सहयोगमा न्याय दिएका छौं। कानुनी सल्लाहकार नहुदाँ जनताको मागअनुसारको न्याय दिन सकेका छैनौं। कानुनमा मान्यता प्राप्त गरेका व्यक्तिहरू भए सम्पर्क गर्न आग्रह गर्दछौं।

तपाईंले राजनीतिमा प्रवेश गरेपछि घरपरिवारबाट कस्तो सहयोग पाउनुभयो ?

सानो उमेरमा राजनीतितिर आकर्षित भएँ । पढाइ छोडेर लागेँ। बुवाले शिक्षा हासिल गरेर राजनीति गर्नुपर्छ भन्नुहुन्थ्यो । मैले बुवाको भनाइप्रति सहमत नभएर पार्टीको कामलाई निरन्तर दिएँ शान्ति प्रक्रिया आइसकेपछि बुवाले पढ्नलाई दबाब दिएपछि ५८ सालमा एसएलसी पास गरँे फेरि राजनीतिसँगसँगै पढाइलाई निरन्तता दिएँ। घर पक्षबाट माईती पक्षबाट पूर्ण रुपले सहयोग पाएकी छु। सबै खुसी हुनुहुन्छ।

महिलाहरूले जिम्मेवारी पाए पनि काम गर्न सक्दैनन् भन्छन् यस विषयमा तपार्इं के भन्नुहुन्छ ?

महिला काम गर्न सक्दैनन् भन्ने गरे पनि महिलासँग जिम्मेवारी बढी हुने गरेकाले हाम्रो पालिकामा एक दुईवटा योजनाको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिएका थियौं। ती योजनाहरू राम्रा टिकाउ भरपर्दो निर्माण भएका छन्।

महिलाहरूले पाएको जिम्मेवारीअनुसार काम गर्न सक्दैनन् भन्ने कुरा प्रमाणित गर्नुभएको छ। महिला तथा लक्षितवर्गलाई आगामी दिनमा सामाजिक क्षेत्रका जिम्मेवारी धेरै दिनेछौं। समाजमा महिलाले काम गर्न सक्छन् भन्ने बनाउँछौं।

न्यायिक समितिमा काम कसरी गर्नुभएको छ ?

न्यायिक समितिको अधिकार राज्यले स्थानीय तहमा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा न्यायसम्बन्धि फैसला गर्न पाउने अधिकारको व्यवस्था गरेसँगै शुरुमा जनताबाट कुनै निवेदन आएनन् ।

पछि न्याय पाइन्छ भन्ने जनतामा विश्वास भएपछि नगरपालिकामा निवेदन दिन थाले छन। न्यायिक समितिमा कानुनी सल्लाहकार नभएकाले सामान्य लेखापढी व्यवसायीहरूबाट काम गरेका छौं।

न्यायिक समितिमा ३९ वटा निवेदन परेका थिए। तीमध्ये सबैभन्दा धेरै निवेदन सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका छन् ।सामान्य लेखापढी व्यवसायीबाट केही मुद्दा फैसला गरेका छांै ।

कुनै मुद्दा प्रक्रियामा छन्। ४ वटा बालविवाहलाई रोकेका छौं। कानुनी सल्लाहकार तथा कर्मचारी नहुदाँ अझै न्याय क्षेत्रलाई सक्रिय बनाउन सकेका छैनौं।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/ut2NR52PHu8

प्रतिक्रिया दिनुहोस्