नेपालमा झन्डै आठ हजार उद्योग



नेपाल समाचारपत्र, काठमाडौं ।

मुलुकभर उद्योगको संख्या ७ हजार ९ सय ६६ वटा पुगेको छ। यीमध्ये अहिलेसम्म उत्पादनमूलक उद्योगमा ३ हजार १९ पुगेको उद्योग विभागका सूचना अधिकृत विनोद कुमार खड्काले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार कृषि तथा वन सम्बन्धित उद्योगहरू ४ सय ६९, निर्माण ५८, ऊर्जा ३ सय ७४, सूचना, प्रसारण तथा सञ्चार प्रविधि ५९, उत्पादनमूलक ३ हजार १९, खनिज ६९, सेवा २ हजार १ सय ८६, पर्यटन १ हजार ७ सय ३२ रहेका छन्।

उल्लिखित उद्योगमा ५ लाख ९८ हजार ३ सय ९५ जनाले रोजगारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो। विभागमा दर्ता भएका उद्योगको कुल पुँजी १९ खर्व ६२ अर्व ८५ करोड २४ लाख ८० हजार रुपियाँ रहेको छ। उक्त उद्योग मध्ये आव २०७३/०७४ मा ५ सय ८, आव २०७४/०७५ मा ४ सय ९३ र आव २०७५/०७६ मा ४ सय ३६ दर्ता भएका थिए।

नेपालको औद्योगिक ऐन अनुसार उक्त उद्योगको वर्गिकरण गर्दा ठूला उद्योगमा १ हजार १ सय ११, मझौलामा १ हजार ७ सय ३१ र सानामा ५ हजार १ सय २४ वटा रहेका छन्।

ठूला उद्योगहरूमा रोजगारी प्राप्त गर्नेको संख्या १ लाख ५८ हजार १३, मझौलामा १ लाख ५८ हजार ९ सय ९६ र सानामा २ लाख ८१ हजार ३ सय ८६ जना रहेका छन्।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत रहेका ५८ जिल्ला र घरेलु तथा साना उद्योग कार्यालयहरू २९ वटा रहेका छन्। देशभरका ७७ जिल्लामा रहेका यी कार्यालयले उद्योगहरू दर्ता गर्न सक्दछ।

प्रतिक्रिया दिनुहोस्