ट्रम्पका गुरु नेपाली नेता



नेता, चाहे स्वदेशका हुन् या विदेशी, शक्तिशाली मुलुकका हुन् या नेपालजस्तै अल्पविकसित देशका। ढाट्ने र टार्ने शैली भने सबैको एउटै हुँदो रै’छ। नेताले गल्ती गरेको सशक्त र बलियो प्रमाण जुट्यो भने उनीहरूले प्रतिकार गर्ने एउटै वाक्य छ–‘यो षड्यन्त्र लोकतन्त्रमाथिको षड्यन्त्र हो।’

प्रचण्ड, ओली मात्रै होइन, प्रतिपक्षी देउवा पनि त्यही वाक्य दोहोर्याएका दोहोर्याएकै छन्। नेताको यस्तो तर्क सुन्दासुन्दा आम नेपाली थाकिसक्या छन्।

उता विश्वकै शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि नेपाली नेताकै शैली पछ्र्याएर पानीमाथिको ओभानो हुन खोज्या देख्दा धरहरा तीन छक पर्या छ। संसद्मा आफूविरुद्ध महाअभियोग शुरु भएपछि ट्रम्पले भने– ‘यो लोकतन्त्र माथिको घोर षड्यन्त्र हो।’

राजनीतिमा लाग्ने हरेकले यस्तो वाक्य घोक्नै पर्छ कि क्या हो, हैन भने नेपाली तर्क अमेरिकामा किन ? अब यस्तै हो भने नेपाली नेताले हाम्रो शैली अमेरिकी राष्ट्रपतिले अनुशरण गरे भनेर गजक्क पर्न बेर छैन।

राजनीतिमा लाग्नेले आफ्नो पार्टीको मूल मर्म र राजनीतिक सिद्धान्त बिर्सिएर के भो त, ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने फर्मुला प्रयोग गरे भै गो।

प्रतिक्रिया दिनुहोस्