६ करोड लगानीमा एकीकृत बस्ती



मधुसूदन रायमाझी

पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उदेश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ। गाउँपालिकाका– ३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको छ।सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रूपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो।

तीन नम्बर प्रदेश सरकारको कृषि मन्त्रालयले कृषि तथा पर्यटन कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गर्न लागेको बताउँदै उहाँले प्रदेश सरकारको योजनामाका गाउँपालिका र स्थानीयले साथ दिएको बताउनुभयो।

जग्गा प्राप्ति जनश्रमदान र घर निर्माणको लागि करिब ६ करोड रुपियाँ लगानी हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। आगामी ३ महिनाभित्र एकीकृत बस्ती निर्माण हुने लक्ष्य राखिएको छ।

तीन नम्बर प्रदेश सरकारले बस्ती निर्माणको लागि डेढ करोड, खाँडादेवी गाउँपालिकाले ७५ लाख बजेट विनियोजन गरेको छ भने स्थानीयले जग्गा उपलब्ध गराउनुको साथै श्रमदान गर्ने भएका छन्।

सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्ने मुख्य उदेश्यसहित एकीकृत बस्ती निर्माण गर्न लागिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बताउनुहुन्छ।

‘सीमान्कृत समुदायको आर्थिक जीवनस्तर उकास्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाएको छ, एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर रोजगारी पनि सृजना हुन्छ।’

एकीकृत बस्तीमा दुई कोठा रहने ४२ वटा घर निर्माण हुनेछन्। बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराइसकेका छन्। बस्तीभित्र सभा हल, स्विमिङ पुल, शारीरिक व्यायम गर्नेस्थल रहने छन्।

सुनकोसी नदी किनारासँगै रहेको माझी बस्तीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा आर्थिक अवस्था मजबुद्ध हुने खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा सदस्य भीम श्रेष्ठ बताउनुहुन्छ।

उहाँले भन्नुभयो– ‘माझी बस्तीमा निर्माण हुने एकीकृत बस्ती आकर्षण गन्तव्यस्थको रूपमाविकास गछौं।’प्रदेश सरकारले एकीकृत बस्ती निर्माणसँगै माझी समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने गरी नमूना कृषि कार्यक्रम पनि सञ्चालन गर्ने योजना अगाडि सारेको छ।

जसको कारण रोजगारीमा समेत बृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ। माझी समुदायले परम्परागत संस्कृतिको संरक्षणको साथै होमस्टेबाट रोजगारी बृद्धि गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताउनुभयो।

नमुना बस्तीबाट रोजगारी सिर्जना गछौं

पुष्करकुमार कार्की वडाध्यक्ष, खाँडादेवी गाउँपालिका–३ भीरपानी

वडालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं। भूकम्पपछि सरकारले एकीकृत बस्तीको अवधारणा अगाडि सारेको थियो। तर समयमा नै कार्यान्वयन हुन नसक्दा भूकम्प पीडितले सरकारले प्रदान गरेको ३ लाख अनुदान लिएर निजी आवास निर्माण सम्पन्न गरिसकेका छन्।

निर्वाचित भएसँगै हामीले पनि नमुना बस्ती निर्माणको लागि प्रदेश र संघीय सरकारसँग बारम्बार आग्रह गर्यो। वडाभित्र नमुना काम गर्ने हाम्रो योजनाअनुसार डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युतलगायतका भौतिक पूर्वाधार एकीकृत बस्तीमा रहनेछ। निर्वाचनमा क्रममा हामीले वडालाई योजनाबद्धरूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं।

निर्वाचित भएपछि कार्ययोजना र समयसीमा तोकैर विकास निर्माणको काम अगाडि बढाएका छौं। योजनाबद्ध कामले मात्र परिणाम दिन सकिन्छ।

हामीले त्यहीँ भएर वडाको समग्र विकास निर्माणको खाका तयार गरेका छौं। आवश्यकता पहिचान गरेपछि काम गर्न निकै सहज हुन्छ।
हामीले शुरूमा भुकम्पपछि केही समय डब्खामा निजी घर निर्माण नगर्न आग्रह पनि गर्यांै।

हामीले पर्यटकी क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ एकीकृत बस्ती निर्माण गर्न ढिलै भए पनि शुरूआत गरेका छौं। यसको गुरु योजना निर्माण भएको छ।

पारीपट्टी बीपी राजमार्ग, डुब्खा क्षेत्रमा मध्य पहाडी लोकमार्ग र बस्तीको किनारामा सुनकोशी नदी भएकाले पनि पर्यटकीय क्षेत्रको ठूलो सम्भावना भएको ठाउँ हो।

एकीकृत बस्तीमार्फत माझी समुदायको संस्कृतिको संरक्षण गर्नुको साथै आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य स्थलको विकास हुनेछ। बस्तीलाई होमस्टेको अवधारणाअनुसार निर्माण गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्