लक्ष्यअनुसार राजस्व असुल गर्न भन्सार असफल



कृष्णउदास खनाल, वीरगन्ज।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सारको पछिल्लो चार महिनाको राजस्व असुली प्रभावित भएको छ। चालू आवको साउनदेखि कात्तिकसम्मको लक्ष्यभन्दा भन्सार कार्यालयले २ अर्ब १९ करोड कम राजस्व असुली गरेको देखिएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले दिएको जानकारीअनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा १५ अर्ब ५ करोड १८ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो। भन्सार कार्यालयले ८५ दशमलव शून्य ४ प्रतिशतको हिसाबले जम्मा १२ अर्ब ८६ करोड ८२ लाख ६२ हजार राजस्व असुली गरेको छ।

विदेशबाट आउने सवारी साधन, मदिरा, इनर्जी ड्रिक्स, फलामे उद्योगको कच्चा पदार्थलगायतका सामानको आयातमा आएको कमी र गत वर्षभन्दा चालू आवमा बढाइएको अव्यावहारिक भन्सार लक्ष्यको कारण लक्ष्य भेटाउन समस्या भएको भन्सार अधिकारीहरू बताउँछन्।

गत आव २०७५÷०७६ को अवधिमा भन्सार कार्यालयले जम्मा ३ अर्ब २८ करोड ९६ लाख ६१ हजार लक्ष्य पाएकोमा ९८ दशमलव ५४ प्रतिशतको दरले ३ अर्ब २५ करोड ४ लाख ८२ हजार राजस्व असुली गरेको थियो।

चालू आवको साउनदेखि कात्तिकसम्म भन्सार कार्यालयले भन्सार महशुल ६ अर्ब ९१ करोड ९ लाख २३ हजार लक्ष्य पाएकोमा ५ अर्ब ७१ करोड २९ लाख ८९ हजार मात्र राजस्व असुली गरेको थियो भने मूल्य अभिवृद्धि करतर्फ सोही अवधिमा ६ अर्ब ९७ करोड २५ लाख ८८ हजार लक्ष्य पाएकोमा ६ अर्ब १४ करोड ८९ लाख ८४ हजार राजस्व संकलन भयो।

सो अवधिमा अन्तःशुल्कतर्फ१ अर्ब १६ करोड ८३ लाख ४९ हजार लक्ष्य पाएकोेमा १ अर्ब ६२ लाख ९४ हजार राजस्व संकलन भएको थियो।

त्यसैगरी, चालू आवको साउनदेखि कात्तिकसम्म ६ करोड ८७ लाख ९९ हजार सडक निर्माण दस्तुरबापत संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले बताउनुभयो।

त्यसैगरी चालू आवको महीनापिच्छेको लक्ष्य र राजस्व संकलनको हिसाब हेर्ने हो भने सबैभन्दा कम लक्ष्य साउनमा देखिन्छ। सबैभन्दा बढी असोज अर्थात दशैंअगावै छ। साउनमा ३ अर्ब ३६ करोड १२ लाखको लक्ष्य पाएकोमा सय दशमलव ३६ प्रतिशत अर्थात ३ अर्ब ३७ कराड ३२ लाख संकलन भएको थियो।

भदौसम्ममा ७ अर्ब ५६ करोड ८८ लाख लक्ष्य पाएकोमा ८९ प्रतिशतले ६ अर्ब ७५ करोड ८८ लाख राजस्व संकलन भएको थियो।

त्यसैगरी असोजसम्म ११ अर्ब ७६ करोड २१ लाख राजस्व लक्ष्य पाएकोमा ८१ दशमलव ८४ प्रतिशतको हिसाबले ९ अर्ब ६२ करोड ६७ लाख र कात्तिकसम्म रु १५ अर्ब ५ करोड १८ लाख ६० हजार लक्ष्य पाएकोमा ८५ दशमलव ४९ प्रतिशतले १२ अर्ब ८६ करोड ८२ लाख ६७ हजार राजस्व संकलन भएको ड्राइपोर्ट भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्