माइन जोखिम शिक्षा सिकाउँदै सेना



नेपाल समाचारपत्र, स्याङ्जा।

नेपाली सेनाले स्याङ्जाका ११ स्थानीय तहका नागरिकलाई माइन जोखिम शिक्षा शुरू गरेको छ। जिल्लाको वालिङ नगरपालिकाबाट शुरू गरिएको माइन जोखिम शिक्षा अब हरेक पालिकामा सञ्चालन गर्न लागिएको हो।

विस्फोटक पदार्थबाट हुने जोखिमलाई कम गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज विष्टले जानकारी दिनुभयो। विस्फोटनको जोखिमलाई कम गर्ने जिम्मेवारी सर्वसाधरण जनताको पनि भएकाले हरेक नागरिकले सुरक्षासम्बन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ। स

माजका अगुवालाई यो शिक्षा दिलाउँछौं गुल्मपति विष्टले भन्नुभयोे– ‘जुन शिक्षा समाजिक अगुवामार्फत छरछिमेक, परिवार, साथीभाइलगायत सबैमा पुगोस।’ विस्फोटक पदार्थबाट नागरिक सचेत हुनका लागि ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उहाँले बताउनुभयो।

बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद वस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको ब्यारेक वरिपरि लगाइएको तारलाई छुन नहुने र विस्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीलाई सहजीकरण गरेको थियो।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडाध्यक्ष, उद्योगी व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

नागरिकलाई विस्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रशंसनीय काम गरेको सहभागीले बताएका थिए। कार्यक्रमको गुल्मका उपसेनानी बद्री केसीले सहजीकरण गर्नुभएको थियो। गुल्मपति विष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्