बेलायत आम चुनाव : जोनसनको जितले ब्रेक्जिट प्रक्रियालाई मार्ग प्रशस्त



लन्डन, (एजेन्सी)।

बेलायतको आम चुनावमा सत्तारुढ कन्जरभेटिव पार्टीको स्पष्ट बहुमतसहितको जितले ब्रेक्जिटको अन्यौलता समाप्त हुने अपेक्षा गरिएको छ।६ सय ५० सिट रहेको संसद्मा पार्टीले बहुमतका लागि आवश्यक ३ सय २६ सिटको आँकडालाई पार गरेको छ। प्रधानमन्त्री बोरिस जोन्सनको यो पार्टीले ३ सय ६४ सिट हासिल गरेको छ। पछिल्लो चुनावको तुलनामा यो ४७ सिटले बढी हो।

विपक्षी लेबर पार्टीको सिटको संख्या घटेर २ सय ३ मा सिमित हुन पुगेको छ। पार्टीले आफ्ना कयौं परम्परागत सिटसमेत गुमाएको छ। लेबर पार्टीलाई पहिलेको तुलनामा ५९ सिट कम भएको छ।

चुनावी नतिजाको घोषणापछि बेलायतका प्रधानमन्त्री जोन्सनले आफूलाई अब नयाँ जनादेश प्राप्त भएको र यसबाट बेलायतलाई युरोपेली संघबाट अलग गर्ने ब्रेक्जिट सहमति लागू गराउन सक्ने र बेलायतलाई एकजुट पार्न सक्ने बताए।

लेबोर पार्टीका नेता जेरेमी कोर्बिनले नतिजाप्रति अफसोच व्यक्त गर्दै लेबर पार्टीका लागि अत्यन्त निरासाजनक रात भएको बताए।
यस चुनावमा लेबर पार्टीले मजुदर वर्गको समर्थन पाएन, लेबर पार्टी ब्रक्जिटका लागि सन् २०१६ मा दिएको उनीहरूको फैसलाको सम्मान गर्न चुकेको उनीको धारण रहेको विज्ञहरूले बताएका छन्।

१ सय वर्षको अन्तरालमा डिसेम्बर महिनामा सम्पन्न यस चुनावमा बेलायतको तेस्रो ठूलो पार्टी लिबरल डेमोक्र्याटको सिट पनि घटेर ११ मा सिमिट हुन पुगेको छ। चुनाव लड्ने अन्य दलमा स्कटल्यान्डको पार्टी स्कटिस नेसनल पार्टीको प्रदर्शन पनि राम्रो रह्यो। यो पार्टीको सिट संख्या बढेर ४८ पुगेको छ।

त्यसैगरि ग्रिन पार्टीलाई १ र प्लाइड कुमीलाई ४ सिट प्राप्त भएको छ भने ब्रक्जिट पार्टीले कुनै खाता खोल्न सकेन।युरोपेली संघले बेलायतलाई अलग हुन अर्थात ब्रेक्जिटको समय सीमा अर्को वर्षको जनवरी ३१ सम्मका लागि बढाएको थियो।

यदि बेलायतको संसद्ले जनवरी ३१ सम्म कुनै सम्झौतालाई अनुमोदन गर्छ भने बेलायत ईयूबाट अलग हुन सक्ने ईयूले भनेको छ। सन् २०१६ मा बेलायतमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले ब्रेक्जिटको समर्थन गरेका थिए र ४८ प्रतिशतले त्यसको विरोध गरेका थिए।

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्