व्यवसायीलाई धम्क्याएर रकम असुल्ने ४ पक्राउ



नेपाल समाचारपत्र, बारा।
वीरगन्ज–सिमरा औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यापारीलाई धम्काएर रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले परवानीपुर गाउँपालिका–४ का प्रमोदसाह गोढ, देवशंकर राम, जितपुरसिमरा उपमहानगरपालिका–२० का अच्छेलाल गोसार्इं र फेटा गाउँपालिका–३ बस्ने दिपेन्द्रकुमार धानुकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनीहरूबाट व्यवसायीसँग फिरौती लिएको ३ लाख र मोबाइल, सिमसमेत बरामद गरिएको छ। परवानीपुर गाउँपालिका–४ चैनपुरबाट उनीहरू पक्राउ परेका हुन्। उद्योगी व्यवसायीलाई शुरूमा धम्क्याएर चन्दा माग्ने र नदिए उद्योगमा विस्फोट गराउने घटनामा संलग्न रहेको पाइएकोले छानबिनका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।
परवानीपुर गाउँपालिका–४ चैनपुर गाउँमा एक इँटाभट्टा उद्यागीसँग रकम लिने क्रममा चारै जना पक्राउ परेका हुन्। प्रमोदले मनोजलाई रकम लिएर परवानीपुरमा बोलाएका थिए। पक्राउ पर्नेमध्येका प्रमोदले इँटा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका–२५ का मनोजप्रसाद साह तेलीलाई पटकपटक फोन गरी १५ लाख फिरौती रकम माग गरेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो।

व्यवसायी मनोजले फिरौती रकम दिन अस्वीकार गरेपछि कात्तिक ४ मा उनको उद्योगमा मनोजले बम विस्फोट गराएका थिए। ‘रकम नदिए घरपरिवारसमेतलाई खतरा हुने भनेका रहेछन्’ –प्रहरी उपरीक्षक खनालले भन्नुभयो। सबै जना चन्दा संकलन गर्ने पेसेवर गिरोह भएको प्रहरी उपरीक्षक खनालको भनाइ छ। फिरौतीका लागि मोबाइलमा एसएमएस गरेको पनि पाइएको उहाँले बताउनुभयो।

प्रमोदमाथि पर्सा जिल्ला प्रहरी कार्यालयमा हातहतियार खरखजाना मुद्दा पनि छ। २०७३ चैत २८ मा वीरगन्जबाट उनी हतियार र गोलीसहित पक्राउ परेपछि मुद्दा चलेको थियो। आरोपित सबैलाई अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सोही समूहले प्रसौनी गाउँपालिका–४ का नन्दकिशोरप्रसाद कुम्हाललाई मोबाइलबाट धम्की दिई ५० लाख रुपियाँ फिरौती माग गरेको र रकम नपाएपछि गत असोज १० मा नन्दकिशोरको घरमा बम विस्फोट गराइएको थियो।

यसैगरी परवानीपुर गाउँपालिका–४ स्थित नारायणी आयल रिफाइनरी उद्योगमा समेत धम्की दिई फिरौती रकम माग गरेको र त्यहाँबाट पनि रकम नपाएपछि असोज २ मा विस्फोट गराएको प्रहरी उपरीक्षक खनालको भनाइ छ। उद्योगबाट सो गिरोहले २५ हजार रकम असुल गरेको प्रहरीले जनायो।

प्रतिक्रिया दिनुहोस्