सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको स्वास्थ्य परीक्षण



नेपाल समाचारपत्र, दार्चुला।
सडक दुर्घटना न्यूनीकरण गर्न दार्चुलामा सवारी चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला आँखा अस्पताल दार्चुला र आँखा अस्पताल दार्चुलाको प्राविधिक सहयोगमा सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो। पछिल्लो समय चालककै लापरबाहीका कारण सवारी दुर्घटना बढेको भन्दै सवारी चालकको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक कार्यलय दार्चुलाका प्रमुख हिक्मत सिंह महताले जानकारी दिनुभयो।

जिल्ला ट्राफिक कार्यालय दार्चुलाले महिनामा एक दिन अनिवार्यरूपमा सवारी चालकको स्वास्थ्य जाँच गर्दै आइरहेको छ। गत आर्थिक वर्ष २०७५–०७६ को असारदेखि हालसम्म ट्राफिक प्रहरीले सवारी सडकमै रोकेर सवारी चालकको स्वास्थ्य चेक जाँच गरिरहेको छ। प्रहरीले आइतबार मात्रै ३० जना सवारी चालकको स्वास्थ्य चेक जाँच गराएको छ।

ट्राफिक प्रहरीले गत आवको असारमा २०, चालू आर्थिक वर्ष २०७–०७७ को साउनमा २१, भाद्रमा २३, असोेजमा २६ र कात्तिकमा २८ र मंसिरमा ३० जना गरी १ सय ४८ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ। सवारी चालकको आँखा जाँच, रक्तचाप नापेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख महताले बताउनुभयो।

सवारी चालकले आँखा कम देख्नु, रक्तचाप बढी वा कम हुनुले पनि सवारी दुर्घटना बढ्ने गरेको पाइएको छ। चालकले लागूपदार्थ सेवन गरे नगरेको बारेसमेत चेक जाँच गरिएको प्रमुख महराले जानकारी दिनुभयो। आइतबार स्वास्थ्य परीक्षण गरिएका ३० जना सवारी चालकमध्ये एक दुई जनामा रक्तचाप बढेको पाइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्