कांग्रेसमा गुटतन्त्र अन्त्य गर्न जरुरी



नेपाली कांग्रेस वि.सं. २००७ देखि करिब सात दशक नेपाली राजनीतिको मुख्य केन्द्रमा रहेको देखिन्छ। पछिल्ला केही वर्षहरूलाई नियालेर हेर्दा कांग्रेस निकै कमजोर देखिएको छ। पछिल्लो चुनावसँगै कांग्रेस सरकारमा छैन।

संसद्मा कांग्रेस कमजोर देखिन्छ। बेला–बेला तराई केन्द्रित दलहरूले बरु विभिन्न मागहरू राखेर संसद्मा चर्को नारा लगाएको देखिन्छ, तर कांग्रेस सरकारको कुनै पनि कार्यक्रममा विमति जनाउन सक्ने अवस्थामा छैन। यो कांग्रेसको ऐतिहासिक कमजोर अवस्था भएको मेरो ठम्याइ छ।

कांग्रेसले पार्टीलाई पूरै परिवर्तन गर्ने र सरकारविरुद्ध जनतालाई जागरुक गर्ने भन्दै अहिले जागरण अभियान चलाइरहेको छ। गत वैशाख २५ देखि शुरू भएको जागरण अभियान आगामी फागुनसम्म चल्नेछ। पार्टी सुदृढीकरण, सुद्धिकरण र सरकारका गतिविधिको भण्डाफोर गर्ने लक्ष्य लिइएको अभियान कस्तो रह्यो त ? प्रश्न उब्जिएको छ।

गुट–उपगुटको अवस्था अनि लथालिंग पार्टी संरचनाका बीच शुरू अभियानबारे अनेक प्रश्नहरू उब्जिएका छन्। पार्टी राजनीतिबारे गतिलो गरी प्रशिक्षण दिने र कार्यकर्तालाई ऊर्जाशील बनाउने लक्ष्य लिइएको अभियान कस्तो देखियो ?

के अभियानले कार्यकर्ता र नेतालाई सही ढंगले पार्टी र राजनीति पढाउन सक्यो ? के नेताहरू आफ्नो गुटगत मत बट्याउन या महाधिवेशन सारिरहन त अभियानको नाम दिएका छैनन् ? संविधान जारी भएको ४ वर्ष बितिसक्दा पनि कांग्रेसले नयाँ संरचनाअनुसारको पार्टी बनाउन सकेको छैन।

लथालिंग संरचनागत अवस्था र अस्पष्ट नीतिगत अवस्थाका बीच शुरू जागरण अभियान कस्तो रहँदै छ ? गुटगत विषयलाई अब हल गरेर लानुपर्छ। कहीँ पनि गुटगत विषयले समस्या आउनुहुँदैन। त्यसतर्फ मुख्य नेतृत्व सजग पनि भएको देखिँदैन। पार्टीभित्रका अनेक कमी–कमजोरी भएकै कारण चुनावमा पराजय भोगेको कांग्रेसले बुझ्न आवश्यक छ।

ठूलो हार नै बेहोर्नुपरेपछि, कमी–कमजोरी भएकै कारण व्यहोरेको हो भन्ने थाहा भएपछि सच्याउन लाग्नुको विकल्प छैन। मतदाता र कांग्रेसबीच बढेको दूरीलाई कसरी हल गर्ने ? भन्ने कुरा कांग्रेसको मुख्य चुनौती हो।

अहिलेको अभियानले गाउँका कार्यकर्ता, जनताले कांग्रेसप्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा बुझ्ने अवसर भएको भन्ने म ठान्दछु। कांग्रेसको सामान्य मतदाताले पनि पार्टीभित्रको बेमेलको कारण पार्टी कमजोर भएको भन्ने ठानेका छन्।

कांग्रेसमा जुन गुटगत संस्था बनिरहेको छ यसको अन्त्य हुनै पर्छ। कांग्रेसलाई जनताले मन पराएका थिए। तर आन्तिरक खिचातानीले कांग्रेसलाई बिगारेको भन्दा फरक नपर्ला। त्यो मन पराएका जनतालाई खुशी मनले भोट हाल्ने अवस्था बनाउनुपर्दछ। त्यो भनेको गुटतन्त्रको अन्त्यले मात्रै सम्भव हुन्छ।

– सन्देश महर्जन, टेकु, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्