राजदूतहरूमार्फत भ्रमण वर्षको प्रचार



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा विदेशस्थित नेपाली दूतावास र नियोगमार्फत नेपालबारेको प्रचारप्रसार शुरु गरिएको छ। मध्यपूर्वी मुलुकलाई समेट्ने उद्देश्यका साथ आइतबार खाडी मुलुक ओमानमा राजदूतहरूको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भ्रमण वर्ष सचिवालयसँगको समन्वयमा भ्रमण वर्ष लक्षित सम्मेलन आयोजना भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पाकिस्तान, इजरायल र खाडी राष्ट्रका राजदूत र नियोग प्रमुखहरूको जमघट आइतबार ओमानको मस्कटमा आयोजना भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो।

नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकसँग हातेमालो गर्दै नेपालमा पर्यटकको संख्या बढाउन यस्तो जमघट शुरु भएको मन्त्रालयले जनाएको छ। आइतबार मस्कटमा भएको जमघट पश्चात भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण छलफल भएको बताउँदै मस्कट पुग्नु भएका परराष्ट्र सचिव शंकरदाश बैरागीले ट्वीट गर्नु भएको छ। सो जमघटमा पर्यटन मन्त्रालयका अधिकारीसमेत सहभागी थिए।

यस्तै प्रकृतिको जमघट यसअघि एसिया–प्रशान्त क्षेत्रका दूतावास र नियोगलाई जोड्ने गरी थाइल्यान्डको बैंककमा र यूरोपेली मुलुकलाई समेट्नेगरी जमघट इटालीमा सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव बैरागी मध्यपूर्वी मुलुकका राजदूतहरूको क्षेत्रीय सम्मेलनमा सहभागी हुन मस्कट पुग्नुभएको थियो।

यसैबीच परराष्ट्र सचिव बैरागीले आइतबार ओमानका ग्यास तथा तेल मन्त्री मोहम्मद हमिद अल रुम्हीसँग भेटवार्ता गर्नुभएको छ। ओमानले नेपालको ऊर्जा र अन्य क्षेत्रमा गर्न सक्ने लगानीका विषयमा उहाँहरूबीच छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्