पौडेल–सिटौला पक्षबाट निरन्तर बैठक बहिष्कार

सहमतिमा ल्याउने प्रयासमा निधि



रामकृष्ण चापागाईं, काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र मौलाउँदै गएको गुट–उपगुट व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवालाई सकस परेको छ। केन्द्रीय बैठकमा महाधिवेशनको एजेन्डा नल्याएको भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुटले आलोचना गरिरहेका बेला सभापति देउवालाई आफ्नै गुटभित्रको उपगुटले पनि सहयोग गर्न छोडेका छन्।

१४औं महाधिवेशनबाट फेरि नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका सभापति देउवाले विभागको संख्या थप गरी असन्तुष्ट नेतालाई व्यवस्थापन गर्ने योजना बनाए पनि पौडेल र सिटौला पक्षले पहिले महाधिवेशन गर्ने कार्यतालिकासहितको एजेन्डा माग गरिरहेका छन्।

कांग्रेसभित्र सशक्त रहेको तीनगुटमध्ये पौडेल र सिटौला समूह अहिले एक ठाउँमा उभिएका छन्। सभापति देउवा गुटबाट उपसभापति विमलेन्द्र निधि आन्तरिक विवाद मिलाउन सक्रिय भए पनि महामन्त्री पूर्णबहादुर खड्का मौन बसेका छन्।

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि गुटको नेतृत्व सम्हालेका महामन्त्री खड्का अहिले मौन बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ। यो समूहमा मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शंकर भण्डारी, पुष्पा भुसाल, इन्द्र बानियालगायतका नेता छन्। यो समूहले १३औं महाधिवेशनमा सभापति देउवा समूहलाई सहयोग गरेको थियो।

विवादमा आउन नचाहने र खुमबहादुर पक्षको नेता बनेर बस्नुभएका महामन्त्री खड्का उपयुक्त दाउ हेरेर बसेको र अहिले देउवा–पौडेल दुवै समूहबाट अलग बसेको बताइएको छ।

१३औं महाधिवेशनमा सभापति देउवा समूहमा लागेका कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसी अहिले पौडेल समूहमा छन्। कांग्रेसभित्र सिटौला र पौडेल समूह मिलाउन केसीले नै भूमिका खेलेको चर्चा कांग्रेसभित्र छ।

१३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन भूमिका खेलेका सिटौला देउवाले आफूलाई दिएको वचन पूरा नगरेको भन्दै असन्तुष्ट भएका थिए। मुख्य गरी आफ्नो गुटका नेता गगन थापालाई प्रवक्ता नबनाएको र अन्य नेतालाई भनेअनुसारको जिम्मेवारी नदिएकोप्रति सिटौलाले सभापति देउवाप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

सभापति देउवालाई उपसभापति विजयकुमार गच्छदार समूह मिलाउन पनि उत्तिकै चुनौती थपिएको छ।पार्टीभित्र विवाद चर्कंदै गएपछि देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि र पौडेल समूहबाट प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता समिति बनाइएको छ।

पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पहिलो सर्त राखेको छ भने देउवा समूहले पहिला विभाग गठन र भ्रातृ संगठनको व्यवस्थापनपछि मात्र महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने बताएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ वटा विभाग गठन गर्ने प्रस्ताव गरिएको थियो।

यो प्रस्ताव नमान्ने भन्दै पौडेल समूहले बैठक बहिष्कार गरेको थियो। कांग्रेसभित्र असन्तुष्टलाई मिलाउन विभागको संख्या बढाउने चलन पहिलेदेखि नै थियो। १२औं महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले पनि ३० वटा विभागलाई बढाएर ४२ वटा पुर्याउनुभएको थियो।

समयावधि सकिनै आँट्दा विभागको कुनै अर्थ छैन, महाधिवेशनको कार्यतालिका प्रमुख एजेन्डा हुनुपर्छ भन्ने पौडेल पक्षको मत छ।वर्तमान कांग्रेस कार्यसमितिको चार वर्षे कार्यकाल सकिन तीन महिना बाँकी छ। पार्टी विधानमा कारण खुलाएर एक वर्ष म्याद थप्न सकिने व्यवस्था गरिएको छ।

संविधानमा राजनीतिक दलले हरेक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख गरिएको छ।संविधानमा विशेष कारण भए ६ महिना थप गर्न सकिने पनि भनिएको छ। कांग्रेस सभापति देउवा यही सुविधा उपयोग गरेर आफ्नो डेढ वर्ष कार्यकाल बढाउने रणनीनिति बनाइरहेका छन्।

महाधिवेशनको कार्यतालिकासहित एजेन्डा ल्याउनुपर्ने माग गर्दै पौडेल समूहले हिजो आइतबार आह्वान गरेको बैठक पनि बहिष्कार गरेको छ। ‘हाम्रो मुख्य माग नै १४औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्यो भन्ने हो’, कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आज पनि हामीले बैठक बहिष्कार गर्यौं।’

विवादमा सहमति गर्न उपसभापति विमलेन्द्र निधिले आइतबार बिहान महामन्त्री डा. शशांक कोइरालासँग पनि छलफल गर्नुभएको थियो। पौडेल भने आइतबार पूर्वनिर्धारित कार्यक्रम भन्दै ताप्लेजुङको पाथीभराको मन्दिर पुग्नुभएको थियो।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँड र रमेश लेखकले आ–आफ्नो धारणा राख्नुभएको थियो।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्