कन्ट्याक सही दिशामा भयो र गोल गर्न सफल भए



१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको अन्तिम दुई खेलमा निर्णायक गोल गरेर नेपाललाई लगातार दोस्रो पटक दक्षिण एसियाली खेलकुदको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने फुटबलर हुनुहुन्छ सुनील बल। बलले बंगलादेश र भूटानविरुद्धको खेलमा निर्णायक गोल गर्नुभएको थियो। नेपाललाई लगालग देस्रो पटक साग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका बलसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप :

फाइनलमा निर्णायक गोल गर्दा कस्तो अनुभव भयो ?

एकदमै खुसी लागेको छ। खेल निकै प्रतिस्पर्धात्मक थियो, दुवै टोली १–१ गोलको अवस्थामा रहेको बेला निर्णायक गोल गर्न पाउँदा निकै खुसी महसुस भएको छ।

गोल गरेपछि यति धेरै उत्साहित भएँ कि पहेंलो कार्ड ब्यहोर्छु भनेर थाहा हुँदाहुँदै जर्सी फुकाल्न पुगेछु। गोल भएपछि मलाई धेरै खुसी लाग्यो र मैले यस्तो गर्न पुगें।

फाइनलमा कत्तिको दवाब महसुस गर्नुभएको थियो ?

दवाब चाहिँ खासै केही पनि थिएन। टिम गेम भएकोले सबैले मिलेर राम्रो नतिजा दिनुपर्छ भन्ने सोचेका थियौं। प्रतिद्वन्द्वी त जो पनि हुनसक्छ, तर हामी एकढिक्का भएर खेल्छांै भन्ने आत्मविश्वास थियो सबैमा। त्यहीँ अनुसारको प्रदर्शन पनि भयो।

गोल गरेपछि के सोच्नु भयो तपाईंले ?

नेपाली फुटबललाई माया गर्नेहरू धेरै हुनुहुन्छ, उहाँहरूको लागि मैले केही गरे जस्तो लाग्यो। मेरो परिवार, साथीभाइ र मलाई माया गर्नुहुने सम्पूर्णका कारण म अहिले यो ठाउँमा छु। उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।

नेपाली फुटबलमा टिकिरहन संघर्ष गरिरहनुभएको थियो, एकाएक स्टार हुँदा कस्तो लागेको छ ?

निर्णायक गोलकर्ता बन्दा धेरै खुसी लागेको छ तर म आफूलाई स्टार हुँ जस्तो कहिल्यै महसुस गरेको छैन।

सागमा यो तपाईंको दोस्रो स्वर्ण पदक हो ?

यसअघि गुवाहाटीमा सम्पन्न भएको १२औं सागमा स्वर्ण जित्दा म पनि टिममा सामेल थिए। त्यतिबेला म उमेर १६ वर्ष मुनि थिएँ। अहिले मैले प्रदर्शनमा सुधार गरिरहेको छु।

फुटबल समर्थकलाई के भन्न चाहनुहुन्छ ?

उहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूको न्यानो माया र समर्थनले गर्दा नै देशको लागि हामीले केही न केही गर्नुपर्छ भन्ने ऊर्जा पाइरहेका छौं। यसले हामीलाई आत्मविश्वास बढाउँछ।

लिगमा भुटानले नेपालबाहेक अन्यलाई हराउँदा फाइनलमा दवाब महसुस भएको थियो ?

प्रतिद्वन्द्वीलाई हामीले कहिले पनि कमजोर ठानेका छैनौं। हामीले उनीहरूलाई लिगमा ४–० ले हराए। तर हामीले भुटानलाई कमजोर भने ठानेका थिएनौं। भुटान पनि राम्रो टोली हो र अहिले राम्रो स्तरमा पुगिसकेकाले हामीले उनीहरूलाई कमजोर ठानेका थिएनौं।

तपार्इंले गर्नुभएको गोलको बारेमा केही बताइदिनुहोस न ?

नसोचेको परिस्थिति थियो त्यतिबेला। सुमन अर्यालले गरेको क्रस बलमा कन्ट्याक्ट गर्छु भन्ने लागेको थियो, ठ्याक्कै कन्ट्याक्ट सही दिशामा भयो पनि र गोल गर्न सफल भएँ।

गोल गरेपछि जर्सी फुकाल्नु भयो, पहेंलो कार्ड पाउँछ भनेर जान्दा जान्दै फुकाल्नु भएको ?

गोल गरेपछि यति धेरै उत्साहित भएँ कि पहेंलो कार्ड ब्यहोर्छु भनेर थाहा हुँदा हुँदै फुकाल्न पुगेछु। गोल भएपछि मलाई धेरै खुसी भयो र मैले यस्तो गर्न पुगें।

घरेलु लिग पनि शुरू भयो, अबको लक्ष्य के हो ?

तीन वर्ष जति म थ्रीस्टार क्लबमा आबद्ध भएको थिएँ। अहिले चाहिँ मैले क्लब परिवर्तन गरेको छु। नयाँ क्लबबाट खेल्दैछु। त्यसैले अलि चुनौती थपिएको छ, तर राम्रो गर्ने लक्ष्य लिएको छु।

प्रतिक्रिया दिनुहोस्