एउटा खेलाडीको उत्पीडनलाई बुझौं



देशको प्रतिष्ठालाई जोगाउने वा बचाउने कुराहरू राजनीतिक वा कूटनीतिक सम्बन्घ मात्र हुँदैन। दुई देशका नागरिकहरूलाई भावनात्मकरूपमा जोड्ने कुरा भनेका अरू पनि धेरै हुन्छन्। खेलकुद, साहित्य, संस्कृति, कला, सङ्गीत, धर्म आदि धेरै कुराले राष्ट्रहरूको सम्बन्धलाई सम्बोधन गरिरहेको हुन्छ।

राष्ट्रले यी क्षेत्रहरूलाई फरक प्रकारले सम्बोधन गरिरहनुपर्छ। समानान्तररूपमा राष्ट्रिय प्रतिभाहरूको मूल्यांकन र परिचालन गर्न सके देशको फरक प्रकारको प्रतिष्ठा स्वतः स्थापित भइरहेको हुन्छ।

हाम्रो देशको प्राचीन इतिहासमा पुग्यौं भने त हाम्रा कुनै पुर्खाले दौडेरै यो देश जितेर राजा भएका थिए भनिन्छ। त्यसैले भनाइ पनि छ– यो देश भनेको दौडीदत्तको मुलुक हो।

अर्थात् दौडेर देश जित्नेहरूको मुलुक। त्यसो त आधुनिक खेलका किसिमहरूसँग प्रतिस्पर्धा गर्न सजिलो छैन, तर आजको खेलको परिणाम देख्दै गर्दा हाम्रा खेलाडीहरूले विश्व खेलमैदानमा आफ्नो क्षमता देखाउन सक्दैनन् भन्ने हीनताबोध गर्नुपर्ने कुनै कारण देखिँदैन।

विश्वको सबैभन्दा विविधतापूर्ण भौगोलिक धरातल र हावापानी भएको यस मुलुकका युवाहरूले कठोरभन्दा कठोर अभ्यास पनि गर्न सक्छन्, तर त्यसका लागि आवश्यक साधन, स्रोत र आर्थिक सुरक्षाको व्यवस्था सरकारले गर्न सक्नुपर्छ। एकपल्ट खेल खेलेर फर्केपछि अर्को खेल खेल्ने बेला नभएसम्म सरकारी कुनै सुविधा वा सम्बोधन नपाउनाका कारणले खेलाडीमा घोर निरासा उत्पन्न हुने गरेको छ।

जसको परिणाम बेला–बेलामा विदेश पुगेका खेलाडीहरू उतै पलायन हुने गरेका समाचारहरू पनि हामी बारम्बार सुनिरहेका छौं। हालै पनि साग खेल शुरू हुनुभन्दा एक हप्ताअघि मात्र अघिल्लो साग च्याम्पियन खेलाडीले यो खेललाई त्यागेर कतार पलायन भएको समाचार भाइरल भएको थियो। झट्ट सुन्दा यो कुरा कसैलाई पनि कर्णप्रिय लागेन, तर विचार गर्दा यो एकदम नै मार्मिक कुरा छ।

खेललाई नै आफ्नो जीवनको अन्तिम लक्ष्य सम्झेर खेलिरहेको कुनै खेलाडीले पाउने तलब वा भत्ता उसलाई डाइट मात्र पनि खान पुग्दैन भने उसले राजधानीमा बसेर कसरी जीवन धान्न सक्छ ?

एउटा खेलाडीले मैदानमा दौडिएर दुई सय मिटरमा प्रथम भएको देखेर रमाउने र ताली पिट्ने हामीलाई यो पनि जानकारी हुनुपर्छ कि त्यतिको दोडिन सक्ने शक्ति शरीरमा सञ्चय गर्न उसको खान्कीमा हरेक दिन कति खर्च पर्छ र त्यो उसले कहाँबाट जुटाउँछ ?

हामीले हरेक क्षण सुनिरहने गुनासो के हो भने, हामीलाई सरकारी सहयोग अपुग छ, जसले गर्दा हामी पूरा समय खेलमा दिन सक्दैनौं। वास्तवमा यदि कुनै प्रतिभा देशको लागि गौरवको विषय हुन सक्छ भने त्यसको संरक्षण र प्रोत्साहन अटुटरूपमा हुनुपर्छ।

कुनै खेलाडीले आफ्नो सबै समय र उमेर खेलमा बितायो, कहिले जित्यो, कहिले हार्यो तर उसले सधैँ त्यही नै गरिरह्यो र उमेर वा खेलकै कारण शारीरिकरूपमा अशक्त भयो भने त्यसको बाँकी जीवनको सुरक्षाको निश्चितता राष्ट्रले गर्छ कि गर्दैन ?

यस कुराले ठूलो अर्थ राख्छ। विगतमा हाम्रो देशका धेरै कलाकार विदेशमा हुने खेल प्रतिस्पर्धामा भाग लिन गएर हराएका अनेकौं घटना छन्। ती समाचारलाई हामीले खेदका रूपमा लियौं तर पलायन हुने मानसिकताको उपचार भने गर्न सकेनौं। खेल हेरर मात्रै रमाउने हामीमा एउटा खेलाडीको उत्पीडनलाई पनि आत्मसात् गर्न जरुरी छ।

– विपिन गहतराज,
एकान्तकुना, ललितपुर।

प्रतिक्रिया दिनुहोस्