“लाखौं महिलाका लागि पनि कुद्नुपर्छ भन्ने सोचें”



सन्तोषी श्रेष्ठ
सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला धावक हुन सन्तोषी श्रेष्ठ। भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दूरीमा प्रथम स्थान हासिल गरेर उनले नेपाली एथ्लेटिक्स इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न सफल भइन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पहिलो स्वर्ण जितेर नयाँ इतिहास बनाएकी सन्तोषी श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप :
इतिहास रच्न पाउँदा कस्तो अनुभव भएको छ ?

एकदमै खुसी लागेको छ। मलाई यहाँसम्म पुर्याउनु हुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु।

कसरी आँट्नु भयो ?

स्वर्ण जित्छु भनेर सोचेको थिईन। प्रशिक्षकहरूले जित्न सकिन्छ भन्नुहुन्थ्यो तर मलाई चाहिँ धेरै आशा गर्नु हुन्न भन्ने लाग्थ्यो। मनमनै उत्कृष्ट प्रदर्शन गर्छु भनेर चाहिँ प्रण गरेको थिएँ। जित्ने हार्ने भन्दा पनि मैले आफूले सक्दो प्रदर्शन गर्छु भनेर दौडेको हुँ।
कुदिरहँदा पनि मैले अवसर नपाएको लाखौं महिलाहरूका लागि पनि कुद्नु पर्छ भन्ने सोचेको थिए। दौडको अन्तिममा पनि मलाई सहयोग गर्ने परिवार र सबै नेपाली सम्झेको थिएँ। पहिला ट्रेनिङ नगर्दा दोस्रो र तेस्रोमा अल्झिरहेको थिएँ। तर राम्ररी ट्रेनिङ गर्छु भनेर लागेको थिएँ।
सिभिल भएर पनि तपाईं कसरी यो ठाउँमा टिक्न सक्नुभयो ?

एकदमै गाह्रो छ। तर भनिहालें नि, सबैको आ–आफ्नै खाले संघर्ष हुन्छ। संघर्ष गर्नेहरू अन्यले सक्छ भने मैले किन सक्दिनँ र भन्ने लाग्छ। नेपालमा मात्र होइन, अफ्रिकी राष्ट्र केन्यातिरका खेलाडीहरूको जीवनचर्या पनि संघर्षमय नै छ। तैपनि उनीहरूको प्रदर्शन विश्वस्तरमा नै उच्च हुने गरेको छ।

त्यही सोचेर पनि होला शायद मैले पनि एउटा दिनुपर्छ भन्ने लागेर यो क्षेत्रमा लागिरहेको हँु। मुख्यतः मेरो दाई केदार श्रेष्ठले सानैदेखि प्रोत्साहन गर्नु हुन्थ्यो। उहाँले सधै पैसा कमाउनु मात्र ठूलो होईन, आफूले केही गरेर अरूको लागि उदाहरणीय बन्न सक्नुपर्छ भन्नु हुन्थ्यो।
पल सेकेन्ड्सले जित्नुभयो, त्यो क्षणको अनुभव कस्तो भयो?  
मलाई त विश्वास नै लागेको थिएन मैले प्रथम स्थान हासिल गरें भनेर। बीचमा ब्लक भएको थिए तर मेरो दिमाग एकदमै चलेको थियो। त्यसरी कहिले पनि चलेको थिएन्। लाखौं महिलाहरूको लागि कुड्नुपर्छ भन्ने सोचे।
तपाईको यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो, निकै अनुभवी देखिनु भयो नि ? 
ट्रेनिङमा नै मेरो प्रशिक्षकहरूले मलाई हरेक दिन जसो वास्तवमै प्रतिस्पर्धा नै भएको जसरी ट्रेनिङ गराउनु हुन्थ्यो। त्यसैका कारणले पनि मैले प्रतिस्पर्धामा  राम्रो अनुभव बटुलेको थिएँ।
म कसैलाई जित्न आएको होइन, म कसैलाई हराउँदा पनि हराउँदिन। पढाइमा होस अथवा खेलमा, म आफूलाई नै जित्छु हरेक पटक र आफूलाई नै जित्न पाउँ भनेर प्रार्थना गरेकी हुन्छु। यही सोचेर कुदेकी थिए।

अब एथ्लेटिक्सलाई कसरी अगाडि बढाउनुहुन्छ ?

गाह्रो छ। अहिलेसम्म त मलाइ मेरो मम्मी र परिवारले छुट दिनुभएको थियो। तर मेरो पढाइलाई अगाडि बढाउनुपर्छ। ब्याचलर सकियो, अब मास्टर पनि गर्नुपर्छ। काम त मेरो खासै छैन, आफूले पढेको कुरालाई प्रयोगमा पनि ल्याउनुपर्यो।

खेल, पढाइ र कामलाई सँगसँगै लानुपर्दा कस्तो हुन्छ होला भन्ने लागिरहेको छ। तर अगाडि लानै पर्छ, सबैले लगिरहेकै छ। म सक्छु होला।
नेपाली एथ्लेटिक्स इतिहासमा तपाईं पहिलो महिला खेलाडी हुनुहुन्छ जसले सागमा स्वर्ण जित्न सफल भयो, यो सम्झँदा कस्तो महसुस हुन्छ ?
कुद्न त मभन्दा अगाडिका दिदी दाइ र अन्य सिनियरहरूले पनि राम्रै कुद्नुहुन्थ्यो। तर मचाहिँ पहिलो स्वर्ण पाउने भाग्यमानी भएँ। मभन्दा सिनियरहरूले पनि राम्रो कुद्नु भएको छ। उहाँलाई पनि आदर गर्छु। म उहाँकै पथमा अघि बढेको हुँ, मचाहिँ पहिलो भए, यति मात्र फरक भयो उहाँसँग।
तपाई जत्तिकै मेहनत गर्ने नेपाली महिलाहरूलाई के भन्न चाहनु हुन्छ ?   
मैले तपाईंहरूका लागि नै खेलेकी हुँ। सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरूको लागि कुदें। म के भन्न चाहन्छु भने, सक्दिन, महिलाले यो त्यो गर्न सक्दैन भनिन्छ। तर आफ्नो मनको कुरा सुन्नुपर्छ। जस्तो काम भए अर्काको लागि आफु उदाहरण बन्नु पर्छ सोचेर अगाडि बढ्नु पर्छ।

प्रतिक्रिया दिनुहोस्