प्रधानसेनापति अन्तर्र्राष्ट्रिय महिला फुटबल हुने



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली सेनाले सातौं संस्करणको प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा ३ विभागीय, २ विदेशी तथा ३ वटा प्रदेश गरी कूल ८ टोलीले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ रहेका छन्। पाहुना टोलीतर्फ भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार पाउनेछन्। त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक स्कुटर प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ।
विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गर्दै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको आयोजकले जनाए।
खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ। पुस ९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल मंसिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्