काँप्दै ‘कपुरी क’



नेपाल समाचारपत्र, हेटौंडा।
यसै त चिसो हुने मकवानपुरको उत्तरी क्षेत्रमा जाडो बढ्दै छ। तर, चखेलका विद्यार्थी भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारिएको टहरामा पढ्न बाध्य छन्।
२०७२ सालमा भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएपछि इन्द्रसरोवर गाउँपालिका–५, चखेलस्थित कालीदेवी माविका विद्यार्थी जस्ताको छानोबाट शित चुहिने भवनमा बसेर पढ्न बाध्य छन्।
यस वर्षको हिउँदमा पनि विद्यार्थी काँप्दै जस्ताको टहरामा पढ्न बाध्य भएका हुन्।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाईंले २०७४ सालदेखि निर्माण शुरु गरेको भवन हाल अन्तिम चरणमा पुगेको छ। विद्यार्थी भने यही चिटिक्क परेको ठूलो भवन हेर्छन् तर जस्ताको छानामुनि ‘कपुरी क’ पढ्छन्।
गौरीपार्वती निर्माण सेवा प्रालिले २०७४ माघ १४ गते निर्माण शुरू गरेर २०७६ वैशाखमा सम्पन्न गर्ने गरी विद्यालय पुनर्निर्माणको जिम्मा लिएको थियो। भवन निर्माण भए पनि विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण भएपछि मात्र पठनपाठन शुरु गरिने विद्यालयका प्रधानाध्यापक मधुकर कार्कीले बताउनुभयो।
जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत् मकवानपुरमा ४१ विद्यालयको भवन निर्माण गरिरहेको छ। मकवानपुरमा हालसम्म सरकारी र गैरसरकारी संस्थाको सहयोग गरेर २ सय ५५ वटा विद्यालय निर्माण भएका छन्। ५ सय १६ विद्यालय रहेको मकवानपुरमा २०७२ सालको भूकम्पबाट चार सय ९ वटा विद्यालय भौतिक रूपमा प्रभावित भएका थिए।

प्रतिक्रिया दिनुहोस्