पच्चीस ज्येष्ठ आमालाई सम्मान



नेपाल समाचारपत्र, दार्चुला ।

महाकाली नगरपालिका–४ ले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ। बुधबार वडाभित्रका ७० वर्ष माथिका गैरदलित र ६० वर्ष पूरा भएका दलित ज्येष्ठ आमालाई सम्मान गरेको हो।

वडा नम्बर ४ मा बसोबास गर्ने २५ जना ज्येष्ठ आमाहरूलाई जुत्ता, चौबन्दी, सल, धोती, च्यावनप्रासलगायतका सामग्री प्रदान गरी सम्मान गरिएको वडा अध्यक्ष पुष्करराज जोशीले बताउनुभयो।

उक्त सामाग्री वडाको १ लाख ५० हजार रुपियाँमा खरिद गरी वितरण गरिएको हो। ज्येष्ठ आमालाई सम्मान गर्ने कार्यक्रमले हैसला थप्ने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताउनुभयो। सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले पछिल्लो समय नेपाली समाजमा वृद्धवृद्धा अपहेलित भएर बाच्नुपर्ने अवस्था सिर्जना भएकाले त्यस्तो अवस्था आउन नदिन सम्मान कार्यक्रमले जीवन जिउनमा सहजता ल्याउने बताउनुभयो। नगरपालिकाले ज्येष्ठ नागरिक, महिला, अपांग लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुना बोहराले ज्येष्ठ नागरिकहरू भगवानसरह हुने भन्दै उहाँहरूलार्ई सम्मानको खाँचो रहेको बताउनुभयो। साथै उहाँले ज्येष्ठ नागरिकहरूको समस्यालाई वडा कार्यालयले पहिलो प्राथामिकतामा राख्ने गरेको बताउनुभयो। वडा कार्यालयले आफूलाई सम्मान तथा मौसम अनुकुलका लत्ताकपडा वितरण गरेको प्रति ज्येष्ठ आमाहरू खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्