स्याउको बजार व्यवस्थापन नहुँदा कृषक मर्कामा



वीरबहादुर बम, मुगु।

मुगुका स्याउ कृषक मर्कामा परेका छन्। स्याउको राम्रो व्यवस्थापन नहँुदा कृषक मर्कामा परेका हुन्। यो वर्ष राम्रो स्याउ फले पनि बजारको अभावले राम्रो मूल्य पाउन सकेको छैन। स्याउको लागि सीत भण्डारण नहुँदा स्याउ घरमै कुहिन थालेपछि स्थानीय चिन्तित् छन्।

मुगुमा ७० प्रतिशत भन्दा बढी स्थानमा स्याउ फल्ने जिल्ला कृषि विकास कार्यालय मुगुको तथ्याङ्कमा उल्लेख छ।सदरमुकाम गमगढि, स्थानीय बजार तारापानी, माझचौर ताल्चा विमानस्थलमा लगेर स्याउ कृषकले सस्तोमा बिक्री गर्न बाध्य भएको सोरु गाउँपालिकाका कृषक रडक नेपाली बताउनुहुन्छ।

छायानाथ रारा नगरपालिका–१४ बाममा फलेको स्याउले बजार नपाएपछि किसानहरू चिन्तित छन्। वडाभित्र पर्ने बाम, फैपाटा, दकेका बस्तीहरूबाट सदरमुकाम गमगढीसम्म पुग्न चार घण्टा लाग्ने र सडक सञ्जाल पनि टाढा भएका कारण स्याउ बिक्री गर्न नसकेको स्थानीय बताउँछन्।

त्यसतै सोरुकोट, धैनकोट, खयाल्च, रुम, कालैं, खनायालगायत एक दजर्नभन्दा बढी स्थानमा स्याउ पाईने भएपनि बजार नहुँदा बिक्रीका लागि सरकारले ढुवानीको व्यवस्था गर्न सकेको छैन। त्यसकोलागि पहल भईरहेको सोरु गाउँपालिकाका अध्यक्ष लोगबहादुर शाहीले बताउनुभयो।

खत्याड गाउँपालिकाका स्थानीयले स्याउको बजार नहुँदा कुहिएको बताएका छन्। स्याउ बिक्री नभएपछि कृषकहरू गाई गोरुलाई कुडो बनाएर दिन बाध्य छन्।
स्याउ घरदेखि बजार र बिमानस्थलसम्म ल्याए पनि दिनको एक दुई सय दानामात्र बिक्री हुने झुमा बढुवाले बताउनुभयो।

ताल्चा विमान स्थल नजिक घर भएका कृषक कर्ण बहादुर भाम भन्नुहुन्छ–‘एयरर्पोट र सडकको छेउमा घर र स्याउ उत्पादन राम्रो भएर के गर्ने कोल्डस्टोर र कार्टुनको व्यवस्था नहुँदा यो वर्ष स्याउले मूल्य नपाएपछि गोठमा स्याउ राख्नु परेको छ।’

कृषि विकास कार्यालय मुगुका अनुसार जिल्लामा ३५ मेट्रिक टन उत्पादन भएको स्याउ जम्मा १५ मेट्रिक टन बहिरी बजारमा गएको छ। बजार र सडकको पहुँज नहुँदा स्याउबाट आम्दानी गर्न नसकेको कृषकले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्