कांग्रेस नेतृत्व



संघीय संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको नेतृत्व सम्हालेको चार वर्ष पुग्नलाग्यो । २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनको संघारमा सभापतिको उम्मेदवार बनेर महाधिवेशन प्रतिनिधिसंँग मत माग्दै गर्दा वर्तमान सभापति शेरवहादुर देउवाले सुदृढ कांग्रेसको लागि सवल नेतृत्व भन्दै कांग्रेलाई बलियो बनाउने आफ्नो १३ बँुदे लिखित प्रतिवद्धता राख्नुभएको थियो ।

भातृसंगठनहरूलाई जुझारु र चलायमान बनाउने, समयमै केन्द्रीय विभागहरू गठन गरी गतिशील बनाउने, शुभेच्छुक संस्थाहरूको राष्ट्रिय सञ्जाल बनाउने, विधानमा व्यवस्था भए अनुरूपको पार्टी संरचनाहरू समयसीमाभित्रै गठन गर्ने, पार्टीको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाइने र यसको लागि स्थायी लेखा विभागको व्यवस्था गरी आर्थिक हिसाबकिताबलाई नियमित रूपमा सार्वजनिकीकरण गरिने लगायत पार्टी सुदृढीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने लिखित रूपमै प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यी १३ बुँदामा पार्टीको आन्तरिक संगठनलाई मजबुत बनाउने कुराले प्राथमिकता पाएको थियो । राष्ट्रिय राजनीतिमा कांग्रेसले खेल्ने भूमिका लगायत मुलुकलाई समृद्ध बनाउने योजनाहरू अरू बँुदामा समेटिएको थियो । गुट–उपगुटमा विभाजित दलहरूभित्र नेतृत्व हत्याउन गरिने यस्ता प्रतिवद्धता कार्यान्वयन भने हुने गरेको पाइँदैन ।

१३औं महाधिवेशन अघिसम्म पार्टीभित्र ४० प्रतिशत भागवण्डा लिदै आउनुभएका सभापति देउवा अहिले पार्टीको हरेक तहमा ६० प्रतिशत आफ्नो गुटलाई र ४० प्रतिशत अर्कोको गुटलाई भन्न थाल्नुभएको जानकारीमा आएको छ । पार्टीभित्र भागवण्डा र गुट–उपगुटको राजनीतिलाई अन्त्य गरी एकढिक्का बनाउने प्रतिवद्धता कार्यान्वयन हुनुको सट्टा भागवण्डा र गुट–उपगुट झन मौलाउँदै गएको छ ।

संस्थापनको हैसियतमा सभापति देउवा अहिले आफै भाग लगाउँदै नेताहरूलाई मनाउने अवस्थामा हुनुहुन्छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघजस्ता पार्टीका सशक्त भातृसंगठनहरू भताभुङ्ग भएका छन् । १३औं महाधिवेशनपछि पार्टीभित्र जे गर्न हुदैन भनेर सभापति देउवाले १२औं महाधिवेशनको नेतृत्वलाई दबाब दिनुहुन्थ्यो अहिले त्यही काम आफैले गरिरहुनुभएको छ ।

विधानअनुसार चार वर्षमा गर्नुपर्ने पार्टीको नियमिति अधिवेशन नहुने पक्का भैसक्यो । विधान र संविधानमा उल्लेख भएअनुसार विशेष परिस्थितिको आवरणमा डेढ वर्ष कार्यकाल थप्ने रणनीतिमा लागिसकेका सभापति देउवाले आफूले गरेको प्रतिवद्धता पूरा गर्दा पार्टीभित्र आफ्नो गुट कमजोर हुने आँकलन गर्न थालिसक्नु भएको बुझिन्छ ।

बीपीको विरासत बोकेको मात्र हैन प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखि अगुवाइ गर्दै आएको र मुलुकका ठूला–ठूला राजनीतिक परिवर्तनको नेतृत्वसमेत गरेको कांग्रेसभित्र गुट बलियो बनाउने र नेतृत्व हत्याउने खेलले गत निर्वाचनमा समेत लज्जास्पद हार व्यहोर्नुपरेको थियो ।

कांग्रेस नेतृत्वमा प्रतिवद्धता कार्यान्वयन इमान्दारी भएको भए गुट–उपगुट मौलाउने थिएन । कांग्रेस प्रतिपक्षको रूपमा पनि यति कमजोर हुने थिएन । कांग्रेस बलियो बन्न नेतृत्वले बोलेको कुरा पूरा गरेमात्र पनि पुग्ने देखिन्छ ।

कांग्रेसभित्र मात्र हैन एकथोक भन्ने अर्थोक गर्ने नेतृत्वको व्यवहारलाई अन्य राजनितिक दलभित्र पनि सुधार गर्नु आवश्यक छ । हालै सम्पन्न उपनिर्वाचनको परिणामलाई अर्को तीन वर्षपछि हुने आवधिक निर्वाचनको विजयको पूर्वसंकेत ठान्ने नेकाले यस विषयमा ध्यान दिनसकेन भने उसको सपना पूरा हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्