रजत र कांस्यमा पुरस्कार घोषणा नहुँदाको गुनासो : ‘पदक जित्दाको खुसी निरासामा परिणत भयो’

एक स्वर्ण जित्नेलाई ९ र दुई भन्दा बढी जित्नेलाई ११ लाख



फिरोज राजोपाध्याय, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेताका लागि बुधबार पुरस्कार घोषणा गर्नुभएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साग पदक विजेतालाई दिनुभएको सम्मान कार्यक्रममा पुरस्कार घोषणा गर्नुभएको हो। यसअनुसार स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण पदक जित्नेलाई ११ लाख प्रदान गरिनेछ।

यसबमोजिम पौडीकी गौरिका सिंह (४ स्वर्ण), तेक्वान्दोकी आयशा शाक्य (२ स्वर्ण) र कराँतेका मन्डेकाजी श्रेष्ठले (२ स्वर्ण) ११–११ लाख रुपियाँ पाउनेछन्।
यस्तै व्यक्तिगत प्रतिस्पर्धामा रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक विजेतालाई ३ लाख नगद पुरस्कार छुट्याइने भएको छ। यसअघि सरकारले सागमा स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५, ३ र २ लाख प्रदान गर्दै आएको थियो।

सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप दिइने पुरस्कार सकारात्मक भएको खेलकर्मीले बताएका छन्। यसपटक सरकारले पुरस्कार रकम ह्वात्तै बढाइदिएको अवस्थामा खेलाडी अझ प्रोत्साहित हुने आशा गरिएको छ।

पूर्वकराँते खेलाडी र हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहनुभएका दीपक श्रेष्ठले दीर्घकालीन योजनाका साथ पुरस्कार दिनुपर्ने बताउनुभयो। आठौं र नवौं सागमा स्वर्ण जित्नुभएका श्रेष्ठले भन्नुभयो– ‘एउटा पाटोले हेर्दा पुरस्कार बढाएर दिने घोषणा सकारात्मक नै मान्नुपर्छ।

यसले खेलाडीलाई अझ खेल्न प्रोत्साहन दिनेछ। तर, अर्को पाटोले हेर्नुपर्दा पैसा भनेको केही होइन। आज रकम लियो भोलि सकाउन सकिन्छ।’सागमा दुई स्वर्ण जितेर केवल ५ लाख पाउनुभएका उहाँले थप्नुभयोे– ‘सरकारले दीर्घकालीन योजनाका साथ पुरस्कार बाँड्नुपर्छ।

खेलाडीको जिविकापार्जन गर्न सक्ने गरी प्याकेज कार्यक्रम आएको भए सुनमा सुगन्ध हुन्थ्यो। किनभने रकमले खेलाडी मात्न पनि सक्छन्।’श्रेष्ठले सरकारले खेलाडीको योग्यताअनुसार संस्था, बैंक वा सरकारी कार्यालयमा जागिरको व्यवस्था गरिदिएको भए झन् राम्रो हुन्थ्यो भन्दै धारणा राख्नुभयो –यस्तो वातावरण मिलाउन सके खेलाडी विदेश जाने थिएनन्।

यस्तै प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेता टिमका खेलाडीलाई ५/५ लाख र कोचलाई ५ लाख दिइने बताउनुभयो। तर समूहगत प्रतिस्पर्धामा रजत र कास्य जित्ने खेलाडीलाई रकम दिने/नदिने कुनै घोषणा गरिएको छैन। प्रधानमन्त्री ओलीले यसबारे पछि मिलाउने बताउनुभयो।

यसै सन्दर्भमा सागको पुरुष बास्केटबलको कांस्य पदक विजेता टिमका कप्तान सदिस प्रधानले बराबरी नगरेकोमा दुःख प्रकट गर्नुभयो। पहिलो पटक सागमा बास्केटबलले पदक जित्दा पनि कुनै सम्बोधन नहुने कस्तो प्याकेज भनेर प्रधानले बताउनुभयो। प्रधानले बताउनुभयो—हामी प्रधानमन्त्री निवासमा २ घण्टा कुर्यौं।

अन्तिममा टिम खेलको स्वर्ण विजेताको पुरस्कार रकम घोषणा भयो। तर रजत र कांस्यको लागि कुनै घोषणा नहुँदा निकै नमज्जा लाग्यो। जति पदक जित्दा खुशी भएको थियो। त्यति नै बास्केटबललाई कुनै सम्बोधन नगरेकोमा निरास भयो। प्रधानले थप्नुभयो—रकम पाउनु पर्छ भन्ने होइन। रजत र कांस्य जित्ने टिम खेललाई पनि सम्मान गर्नुपर्यो।

साथै व्यक्तिगत र टिम खेलमा यसरी भिन्नता किन गर्नुपर्यो। मैले खेलकुद परिषदका सदस्यसचिव लाई समेत सोधेको थिएँ। तर उहाँले कुनै उत्तर दिनुभयो। लोकप्रिय खेल भनेको टिम खेल नै हो। व्यक्तिगतले जित्नु र टिमले जित्नुमा के फरक रह्यो र ? यदि टिम खेललाई हेला गर्ने हो भने व्यक्तिगत खेलमा प्रतिस्पर्धा गराए भइहाल्छ नि।

सागका विजेतालाई रकम पुरस्कार घोषणा भएकोमा भने प्रधानले प्रेरणादायक रहेको भन्दै बताउनुभयो— पुरस्कार वितरण गर्ने नराम्रो त होइन। यसले खेलाडीलाई प्रेरणा दिन्छ। तर सागमा बास्केटबलको लागि खेल्न आएका हाम्रा कति साथीको जागिर समेत गुमाउनु परेको पीडा पनि छ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्