१३औं सागका विजेतालाई रकम पुरस्कारः स्वर्ण, रजत र कास्य पदक विजेतालाई कति?



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९–९ लाख दिने घोषणा गरेका छन् ।

त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्।

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो। मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३औँ साग समापन भयो।

समापन समारोहमा भिडियो सन्देश पठाएका प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर विजेता खेलाडीलाई बधाईसँगै विशेष रकमको घोषणा गरेका हुन्।

नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको हो। नेपालले कुल पदक भने २०६ वटा जितेको छ।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

प्रतिक्रिया दिनुहोस्