रोजगार विभागले माग्यो बीमा कम्पनीसँग लिखित जवाफ



भूपराज बस्याल काठमाडौं।

वैदेशिक रोजगारमा जाने कामदारको दुई वर्षको श्रम स्वीकृतिको लागि तीन वर्षे बीमा अनिवार्य गरिएको भन्दै रकम लिन थालेपछि वैदेशिक रोजगारले यस विषयमा खोजी शुरू गरेको छ।

कतारमा वैदेशिक रोजगारी जाँदा श्रम स्वीकृति दुई वर्षको लागि दिइने तर इन्स्योरेन्सको प्रिमियम ३ वर्षको तिर्नुपर्ने भएपछि खोजी भएको हो। एकपटक श्रम स्वीकृति लिएर आउँदा बीमा ३ वर्षको हुने तर श्रम स्वीकृति २ वर्षको लागि मात्र हुने भएकाले पहिलो चरणको सम्झौता पूरा गरी बिदामा गएर फर्किनुपर्दा बीमा अवधि एक वर्ष बाँकी भए पनि बीमा नवीकरण नगरी श्रम स्वीकृति नदिने र यसो गर्दा कामदारले बीमावापत थप बोझ सिर्जना भएको विषयलाई कतारमा क्रियाशील चार संस्थाले संयुक्त सुझाव नेपाली राजदूतावास कतारलाई बुझाएका थिए।

नेपाली समाज कतार, नेपाली जनसम्पर्क समिति कतार, प्रवासी नेपाली एकता मञ्च कतार र गैरआवासीय नेपाली संघका सामाजिक संघसंस्था मिलेर विशेष छलफल गरी संयुक्त सुझाव पत्र पेस गर्दै यस सम्बन्ध ध्यानाकर्षण गराएका थिए।श्रमिकका समस्या तथा समसामयिक विषयको सन्दर्भमा संयुक्त रुपमा पेस गरिएको सुझाव पत्र परराष्ट्र मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, समाजवादी पार्टी, गैरआवासीय नेपाली संघलगायत समेतलाई बोधार्थ गरिएको थियो।

यस विषयमा थाहा पाएलगतै बीमा कम्पनीबाट लिखित जवाफ मागिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

समान्यतया श्रम गर्दा बीमाको केही महिना पछिसम्मको गरिने भएता पनि त्यसको लागि श्रमभन्दा छ महिनापछिको बीमा गरे पनि हुन्छ। तर, अहिले बजारमा तीन वर्षको अनिवार्य गरिएको कुरामा आफू पनि अनभिज्ञ रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्