धान बेच्न नौ दिनसम्म नेपालगन्जमा ‘बास’



नेपाल समाचारपत्र, बाँके।

खाद्य व्यवसाय तथा व्यापार कम्पनीले ‘राम्रो मूल्य’ दिएपछि धान बेच्न किसानको घुइँचो लागेको छ।नेपालगन्जको कारकादोमा रहेको खाद्यको कार्यालयमा धान बेच्न आएका किसान नौ–नौ दिनसम्म पालो कुरेर बसेका छन्। बाँकेको विकट मानिने राप्तीपारीको सोनवर्षाबाट आएका राजेशकुमार साहु नौ दिनदेखि खाद्यको कार्यालय परिसरमा बसेका छन्।

४० क्वीन्टल बढी धान लिएर आएका राजेश बिस्तारा बोकेर आउनु भएको छ। ‘आएको नौ दिनभयो। अझैसम्म मेरो पालो आएको छैन। होटलतिर गएर खाना खान्छु, राजेशले भन्नुभयो–‘बिस्तारा ल्याएको छु। यही (खाद्यको परिसर) सुत्छु।’

बजार मूल्यभन्दा तीन सय बढीमा धान खरिद गरेपछि खाद्यमा किसानको भीड लागेको हो। खाद्यले मोटा धानलाई दुई हजार पाँच सय ३२ रुपियाँ ८० पैसा र मध्यम धानलाई दुई हजार ६ सय ७३ रुपैया १६ पैसामा खरिद गरिरहेको छ। नेपालगन्जबाट यो वर्ष ३५ हजार क्वीन्टल धान खरिद गर्ने खाद्य व्यवसाय तथा व्यापार कम्पनीका प्रमुख भरत खनियाँले जानकारी दिनुभयो।

खाद्यले दैनिक १२ सय क्वीन्टलसम्म धान खरिद गरिरहेको छ। चार वटा काटा लगाएर विहान नौदेखि साँझ सात बजेसम्म खरिद गर्दा पनि घुइँचो कम हुन सकेको छैन। खाद्यले कात्तिक २७ गतेदेखि धान खरिद गर्न शुरु गरेको थियो।

अहिलेसम्म २० हजार नौ सय क्वीन्टल धान खरिद भइसकेको कार्यालय प्रमुख खनियाँले बताउनुभयो।बाँके र बर्दियामा फौजी किराले धानलाई नोक्सानी पुर्याएर चिन्तित बनेका किसानलाई खाद्यले राम्रो मूल्य दिएपछि केही राहत भएको छ।

खाद्यले गतवर्ष नेपालगन्जबाट ३३ हजार क्वीन्टल धान खरिद गरेको थियो। २५ हजार क्वीन्टल खरिद गर्ने कोटा निर्धारण गरेकोमा पछि १० हजार क्वीन्टल बढाइएको थियो। तर, थप आठ हजार क्वीन्टल मात्रै धान खरिद भयो। यसपटक पनि यस्तै घुइँचो रहेमा पछि कोटा बढाउन सकिने कार्यालय प्रमुख खनियाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्