रसिया र युक्रेनबीच सहमति



किभ, (एजेन्सी)।

उच्च स्तरीय वार्तापछि मंगलवा रसिया र युक्रेनबीच सन् २०१९ को उत्तराद्र्धदेखि पूर्वीयुक्रेनमा ‘पूर्ण र व्यापक’ युद्ध विराम कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबिच सोमबार यस विषयमा पेरिस सम्मेलनमा प्रत्यक्ष वार्ता भएको थियो।

तर जेलेस्कीले सो वार्तामा अपेक्षित परिमाणमा ठोस परिणाम निस्कन नसकेको भन्दै असन्तुष्टि पोखेका छन्। युक्रेनी फौज र रसिया समर्थित लडाकूहरूबीच भएको साढेपाँच वर्ष लामो युद्धमा १३ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो।

दुई राष्ट्र नेताबीचको यस महत्वपूर्ण वार्ताका लागि फ्रान्स र जर्मनीका नेताहरूले मध्यस्थताको भूमिका निभाएका थिए। सो वार्ताको सहमितमा ठूलो परिमाणमा युद्धबन्दीहरू साटासाट गर्ने तथा तीनवटा प्रमुख क्षेत्रका अग्र मोर्चाबाट युक्रेनी फौज फिर्ता ल्याउनेजस्ता बुँदा पनि उल्लेखित छन्।

सो लिखित सहमति पत्रमा यसैवर्षको अन्त्यसम्ममा सम्पूर्ण युद्धबन्दी दुवै पक्षले रिहा गरिसक्ने बताइएको छ। तर सन् २०२० को मार्चको अन्त्यसम्ममा सेना हटाइने युक्रेनका ती तीन प्रमुख क्षेत्रको नाम भने उल्लेख गरिएको छैन। युद्ध विरामको प्रगति विवरणबारे मूल्यांकन गर्नका लागि प्रत्येक चार–चार महिनापछि पुनः थप द्विपक्षीय वार्ता गर्ने विषयमा पनि सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्