बालश्रम मुक्त १२ इट्टा उद्योग सम्मानित



बुटवल, (नेस)।

रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालित इट्टा उद्योगमध्ये १२ वटा उद्योगले बालश्रम मुक्त रहेको भन्दै सम्मानित भएका छन्। वेटर ब्रिक नेपालले इट्टा उद्योग बालश्रम मुक्त बनाउने अभियान छ वर्षदेखि अभियान सञ्चालन गरेकोमा दुई जिल्लाका १२ उद्योग बालश्रम मुक्त भएकाले सम्मान गरिएको हो।

उक्त अभियानवाट रुपन्देहीको एक र कपिलवस्तुका तीन गरी जम्मा चार उद्योग पूर्णरूपमा बालश्रम मुक्त प्रमाणीकरण भएका छन्। त्यसैगरी रुपन्देहीमा एक र कपिलवस्तुमा सात उद्योग बालश्रम मुक्त गर्न सफल भएका तर प्रमाणीकरण हुन बाँकी उद्योगलाई प्रदेश पाँचका उद्योग वन वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मंगलबार एक विशेष समारोहबीच सम्मान गर्नुभएको हो।

बालश्रम मुक्त प्रमाणीकरण भएका उद्योगमा सिद्धार्थ इट्टा उद्योग रुपन्देही, र कपिलवस्तु जिल्लाका समृद्धि इट्टा उद्योग, एनएसएस इट्टा उद्योग र सेभेन स्टार इट्टा उद्योग रहेका छन्। त्यसैगरी बालश्रम मुक्त गर्न सफल तर प्रमाणीकरण हुन बाँकी सम्मानित उद्योगमा रुपन्देहीको सोना इट्टा उद्योग र कपिलवस्तुको लम्की इट्टा उद्योग, बुद्ध इट्टा उद्योग, आरसी इट्टा उद्योग, बौद्ध इट्टा उद्योग, ऐपोलो इट्टा उद्योग, हिमाल इट्टा उद्योग र जयसवाल इट्टा उद्योग रहेको परियोजनाका कार्यक्रम संयोजक दुर्गा अर्यालले बताउनुभयो।

नेपालमा सञ्चालित इट्टा उद्योगले ६० प्रतिशतभन्दा बढी बालश्रम प्रयोग गर्दै आएका छन्। इट्टा उद्योगमा बालश्रम प्रयोग गर्ने मुलुकको ६औं स्थानमा नेपाल पर्ने गरेको परियोजनाका निर्देशक सुरेश पण्डितले बताउनुभयो।

सम्मान कार्यक्रममा मन्त्री गिरीले बालश्रम मुक्त प्रमाणित उद्योगको अनुगमन गरी बालश्रम दोहोरिन नदिनका लागि टेवा पुर्याउने धारणा व्यक्त गर्नुभयो।
उहाँले इट्टा उद्योगमा बालश्रम मुक्त बनाउन पहल गरेकोमा परियोजनालाई धन्यवाद दिँदै काम गर्ने दौरानमा आईपर्ने कानुनी अड्चनलाई संशोधन गर्दै जान प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्