सचेतना कार्यक्रम गर्दै ट्राफिक प्रहरी



नेपाल समाचारपत्र, स्याङ्जा।

पछिल्लो समय दैनिक सवारी दुर्घटना हुन थालेपछि स्याङ्जा ट्राफिक प्रहरीले पनि चासो देखाउन थालेको छ। जिल्लामा पछिल्लो समय दुर्घटनामा न्यूनीकरण भए पनि विभिन्न जिल्लामा भएको दुर्घटनाले सचेत बनेको जिल्ला ट्राफिक प्रहरीले सचेतना फैलाउन लागेको हो।

सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले सवारी चालक, सहचालक, यात्रु, सर्वसाधारणका बीच सचेतना कार्यक्रम शुरू गरेको छ।

जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ र गल्याङ क्षेत्रबाट ग्रामीण भेगमा जाने सवारी साधनका चालक, सहचालक, सवारी धनी, यात्रुलगायतलाई भेला गराएर सचेतना कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले बताउनुभयो।

सवारी ऐनको अवज्ञा गर्दै सवारी साधन चलाउनेलाई यात्रु आफंैले पनि खबरदारी गर्नुपर्ने ट्राफिक प्रहरीको अनुरोध छ। विगतदेखि नै दुर्घटना न्यूनीकरणमा आफूहरूले चासो देखाएको बताउँदै जिल्ला ट्राफिक प्रहरी रानाभाटले देशभरको दुर्घनालाई हेर्दा स्याङ्जामा सामान्य रहेको बताउनुभयो।

सवारी चालकको साधन चलाउने अनुमतिपत्र, सवारी साधनको आवश्यक कागजात सधैं साथमा हुनुपर्ने बताउँदै रानाभाटले क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाहीको दायरमा ल्याउने भन्नुभयो।

सचेतना कार्यक्रममा ट्राफिकको कार्यक्रम प्रभावकारी रहेको बताउँदै ग्रामीण भेगमा समेत कार्यक्रम लग्नुपर्ने सवारी चालकले बताएका छन्। दुर्घटना न्यूनीकरणमा सबैको चासो र खाँचो रहेको भन्दै गाउँगाउँमा सवारी जाँचसमेत हुनुपर्ने चालकहरूले ट्राफिक प्रहरीलाई सुझाए।

बढ्दो सवारी चाप र बिगँ्रदो सडक पनि दुर्घटनाको कारक बनेकोले दुवै विषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ। अहिलेसम्म ट्राफिक प्रहरीले ४ सयभन्दा बढीलाई सचेत गराएको ट्राफिक हवल्दार शंकर रिमालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्