उपमेयरले गरे मेयरको शालिक अनावरण



नेपाल समाचारपत्र, स्याङ्जा।

पुतलिबजार नगरपालिकाका प्रथम मेयर उमेश चन्द्र थापाको १८औं स्मृति दिवसको अवसरमा स्व. थापाको शालिकको अनावरण गरिएको छ। तत्कालिन उपमेयर हालका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले शालिकको अनावरण गर्नुभएको हो।

२०५४ सालमा तत्कालिन एमालेबाट निर्वाचित मेयर थापा पदमा बाहाल रहँदै २०५७ साल मंसिर १५ गते निधन भएको थियो।शालिकको अनावरणमा मरासिनीले स्व.थापा बाम प्रजातान्त्रिक आन्दोलनको अमर व्याक्तित्व रहेको बताउनुभयो।

कामका आधारमा व्याक्तिको पहिचान हुने बताउँदै मरासिनीले स्व.थापा नगरवासीको मुटुभित्र सधैंभरि रहिरहने बताउनुभयो। कार्यालय हाताभित्र शालिक राखिनु स्व. थापाको कामको मूल्याङ्कन भएको बताउँदै मरासिनीले स्व. थापा निडर र निश्वार्थ भावनाको भएको बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दास, नगर उपप्रमुख महेश पुरी, पूर्वजिल्ला विकास समिति सभापति रामबहादुर थापा, नेकपा नगर अध्यक्ष तारा शर्मा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोती पौडेल, समाजसेवी लोकराज शर्मा, राप्रपा नेता जयनारायण श्रेष्ठ, भुवन थापालगायतले स्व.थापा नगरको पिता भएको बताउनुभएको थिए।

स्व.थापाले नगरपालिका बनाउन गरेको कामको मूल्याङ्कन गर्दै शालिक कार्यालय परिसरमा राख्ने प्रथम नगरसभाले निर्णय गरेको थियो। विस.ं १९९३ सालमा जन्मनुभएका स्व. थापाले बानरसबाट आई र नेपाल क्याम्पसबाट बीए पास गर्नुभएको थियो।

मामा हुबिर आलेको प्रभावबाट कांग्रेस बन्नुभएका स्व.थापा माक्र्सवादी, माले हँुदै २०४३ सालमा जनपक्षीय उम्मेदवारबाट छाता चि≈न लिएर चुनाव लड्नुभएको थियो। मातृभूमि माविमा प्रधानाध्यापक रहनुभएका स्व.थापा पञ्चायतको बिरुद्ध लागेका कारण २०३४ सालमा भागेर डोल्पा पुगेर अध्यापन गर्नुभएको थियो।

स्व. थापा जनमत संग्रहका बेला २०३६ सालमा डोल्पाबाट फर्केर राजनीतिमा सक्रिय रुपले लाग्नुभएको थियो। सामन्ति शासनका बिरुद्धको आन्दोलनमा भूमिगत हुनुभएका स्व.थापा केही समय नुवाकोट जेलमा बस्नुभएको थियो।

इन्जिनियर सन्तोष थापाले डिजाइन गर्नुभएको स्व. थापाको शालिक नगरपालिकाले ५ लाख ९९ हजार ९९ रुपियाँमा निर्माण गरेको हो। २२.२ वर्गमिटरमा राखिएको शालिक भुइँसहित १० फिट उचाइ रहेको निर्माण समितिका अध्यक्ष प्रेम रानाले जानाकारी दिनुभयो।

यता पुतलीबजारका प्रथम मेयर स्व. उमेशचन्द्र थापाको शालिक नगरपालिका कार्यालयभित्र राखेकोमा नेपाली कांग्रेस पुतलीबजार नगरसमितिले आपत्ति प्रकट गरेको छ। थापाको शालिकलाई कार्यालय परिसरभित्र राख्दा अन्य नगर प्रमुखहरूको पनि शालिक राख्ने प्रचलन बढ्ने भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो।

नेपाली कांग्रेस पुतलीबजार नगरसमितिका सभापति वेदप्रसाद दोरगांले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामीले स्व.थापाको शालिक राख्न हुदँैन भन्ने विरोध गरेका होइनौं तर नगरपालिकाभित्र नराखौं भन्ने हो।’

त्यस्तै कार्यालयको जग्गा थोरै छ त्यसमाथि सबै प्रमुखका शालिक राख्दै जाने हो भने कार्यालयको अवस्था साँघुरो हुने दोरगांले बताउनुभयो। कांग्रेसले पुतलीबजार नगरपालिका ३ रमाइलो डाँडामा देशका निम्ति आहुति दिने सबै शहीदका शालिक राखौं भन्ने प्रस्ताव गरेको सभापति दोरगांको भनाइ थियो।

बलिदान स्मृति प्रतिष्ठानले निर्माण गर्न लागेको पार्कमा स्व.मेयर थापाको शालिक राखौं भन्ने प्रस्ताव दिँदादिँदै नगरपालिकाले एकलौटी ढंगबाट शालिक अनावरण गर्न थालेपछि कांग्रेसको सहभागिता नभएको दोरगांले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्