हामी कति खुशी ?



जीवन जिउने मान्छे जीवनको यात्री हो। यात्रीको यात्रामा जीवनबोध राम्रैसँग हुन्छ। जीवन अनुभूत गर्ने कला मान्छेको स्वभावअनुसार भिन्नै हुन्छ। जीवनकालका कतियय कुइनेटाहरूमा पुग्दा यात्रीको भेट प्रकृतिले उपहारको रूपमा यस धर्तीमा दिएका अनेक सजीव/निर्जीवसँग हुन्छ। कतिसँग गहिरो आत्मीयता रहन्छ। कोही बिर्सिनलायक हुन्छन्। आत्मीय लाग्नेहरूले जीवनमा खुशी भित्र्याउँछन्।

यिनले ऊर्जा बनेर पाइलाहरूमा सहजता थप्छन्। जीवनयापनमा खुशी अनिवार्य छ। खुशीविनाको जीवन फिक्का बनेर ओइलाउँछ। समयक्रमअनुरूप ऋतुहरू चक्रीय लयमा फन्को मारिरहँदा हामी माझ यिनले छाड्ने यादहरू फरक–फरक नै हुन्छन्। सबै प्रिय लाग्दैनन्। प्रिय नलाग्नेसँग मान्छे जोडिन चाहँदैन। यादहरूलाई सम्झनाबाट धुमिल्याउँछ। बिर्सिन खोज्छ। टाढा भाग्छ। यथार्थता यही हो।

विश्व खुशी प्रतिवेदनले एउटा रोचक कुरा सार्वजनिक गर्यो। यसमा नेपालीहरू पहिले वर्षको तुलनामा बढी खुशी भएको देखिएको छ। नेपालीको ओठमा मुस्कान भेटिनु, हामी सबै खुशी छौँ भन्ने सूचक हो। प्राकृतिक विपत्तिको पीडाले पनि हाम्रो खुशीलाई चुँडेर लान सकेको छैन। नेपाली धैर्यवान् हुनुको गतिलो उदाहरण हो यो।

छिमेकी मुलुक भारतभन्दा बढी खुशी नेपाली रहेको प्रतिवेदनले औंल्याएको छ। चीन भने हामी भन्दा बढी खुशी छ। हामी खुशी हुने/रहने यो चरण अझ बढ्नुपर्छ। हामीले गर्ने हरेक काममा खुशीको वहार चल्नुपर्छ। नेपाली मात्र हैन विश्व नै खुशी बन्नुपर्छ। प्रसिद्ध खगोलविद् तथा दार्शनिक ओमर ख्यायामलाई मान्ने हो भने उनी यो क्षणमा खुशी हुनुपर्छ, यो नै आफ्नो जीवन रहेको मत राख्छन्।

यसरी पलपलका क्षणहरूमा खुशी हुने हो भने सुन्दर भविष्य खोज्न भौँतारिनुपर्दैन। खुशी तुल्याउने कुरा एकै हुन सक्दैन। यो व्यक्तिको रुचिले निर्धारण गर्छ। सफलता, याद, मिल्ने मान्छे, घुमफिर, लेखन, भेटघाट, कुनै चिजको संग्रह आदि खुशीका सारथी हुन्।

खुशीका लागि मान्छे बहाना खोज्छ। जबसम्म त्यो प्राप्त हुँदैन, कुनै अंशमा पनि मान्छे मुस्कुराउन सक्दैन। मान्छे सबै अर्थमा खुशीको हिस्सा बढी खोजिरहेको हुन्छ। जो घटबढ भइरहने यी पाटोहरूलाई सहज लिन सक्दैन, ऊ अप्रिय बाटो रोज्छ। उसले संसारमा आफ्नो अस्तित्वलाई भौतिक, मानसिक रूपमा राख्न सक्दैन।

समाचारमा दिनानुदिन आत्महत्याका खबरले हाम्रो ज्यान सिरिङ्ग हुन्छ तर यही सुनेर ज्यान सिरिङ्ग बनाउनेहरूले पनि यही बाटो रोजिरहेका नै हुन्छन्। निष्कर्ष यो हुन सक्छ, बदलिँदो परिस्थितिले देखाउने बाटो अमूल्य हुन्छ। सकारात्मक र नकारात्मक सोचहरूले भरिएको चेतमा सन्तुलनको गुञ्जायस नभेटिँदा खुशी पाउन सकिँदैन। हेर्ने दृष्टिकोणले खुशी हुनुमा र नहुनुमा महत्व राख्छ।

चर्चित गीत ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ यथार्थतामा घुलेर दुर्गालाल श्रेष्ठले लेखेका थिए। मान्छेहरू अहिले यसबाट धेरै प्रेरणा लिइरहेका छन्। बिर्सिन खोज्दा, यादहरूलाई धुमिल्याउन खोज्दा र टाढा भाग्दा पनि सबै कुरा अमिट हुनै सक्दैनन्। अमिटमा विचित्र शब्दभाव छ। एकपटक ‘डिलिट’ गरेको चिज त ‘रिकभर’ हुन्छ भने बेला–बेलामा ‘रिकभर’ भइदिने यादहरू काँडासरि घोच्न आइपुग्छन्।

प्रिय नलाग्ने विगत मान्छे मस्तिष्कबाट विलीन होस् भन्ने चाहन्छ। रद्दीको टोकरीमा नफर्किने गरी मिल्काउन खोज्छ। सहज छैन। नराम्रोसँग गडेका काँडाहरूले बिझाइरहन्छन्। समय–समयमा पोल्छन्।

सूर्योदयको पहिलो प्रहरमा, निष्पट्ट र अटल बनेर बसिरहने तालमा, अनवरत बगिरहने नदीमा, प्रकृतिको अलौकिक काखमा, वर्षातको भेलमा, सिमसिमे पानीमा, कुहिरोले ढाकेको टाकुरामा, सर्सर बतासले हुत्याउन खोज्ने डाँडोमा, वर्षौंदेखि हिउँलाई थेगेर हाँसिरहेको हिमालमा मान्छेको स्वभाव विविधतामा झल्किन्छ।

मान्छे खुशी भावमा ‘वोउ’ भनेर आश्चर्य प्रकट गर्छ। केही समयपछि यी सबै सामान्य लाग्छन्। नयाँ तृष्णाले मान्छे भरिन्छ। यस्ता अनेक आयाममा मान्छे उस्तै छ। तमाम चाहनाहरूलाई एकैपटक हुत्याएर पर सार्न पनि त तयार छैन मान्छे।आवश्यकताहरूले मान्छेलाई गर्ने प्रेम पनि बडो अचम्मको छ। यी क्षणिक भइदिएको भए मान्छे कति खुशीले यो केही वर्षको जिन्दगी जिउँथ्यो होला।

सोचेजस्तो र भनेजस्तो त यहाँ कसलाई नै भएको छ र ? फेरि अर्को कुरा, खुशीको मात्रै स्पर्श भइदिए जीवनको साझा परिभाषा पनि त संकटमा पथ्र्यो। मान्छे प्रगतिको पथमा यसरी उभिन सम्भव नै थिएन। खुशी भेटेर भेटिने चिज होइन। यो त अनुभूत गर्ने कुरा हो।

जहाँ मन खोलेर अनुभूतिको रसपान गर्न सकिँदैन, त्यहाँ दुःख–लालसाले मात्रै घेरिरहेको हुन्छ। मान्छेले मान्ने गरेको कैयौं जुनीमा पनि खुशी फर्केर आउने कुरामा सहमत हुनै सकिँदैन। 

मान्छे दिन–प्रतिदिन महत्वाकांक्षी बन्दै छ। खुशी खोज्दाखोज्दै बेखुशी बनिरहेको छ। ऊ ठूला–ठूला सपनाहरूले बाँधिएको छ। पृथ्वीमा भएको भुलेर अर्कै संसारमा पुगेको ठान्नु कल्पनासिबाय केही हँुदैन। कल्पना भन्ने कुरा नराम्रो हुँदै होइन।

असीमित कल्पनाको डुबाइले मान्छे पौडिन नसक्ने गरी भासिन सक्छ। यो विचारणीय छ। हुनुमा, भएको र हुनेमा जिन्दगीलाई खुशीसाथ डोर्याउनुपर्छ। सधैँ मान्छे खुशी हुनै सक्दैन। यो अकाट्य नै छ, तैपनि खुशीका लागि प्रयत्नहरू ठीक ढंगले रहनुपर्छ।

अरूका लागि खुशी खोज्ने हामी आफ्नो लागि भने कहिल्यै गहिरिएर खुशी खोजिरहेका हुँदैनौं। आफू खुशी नभई अरूलाई दिने खुशीमा वास्तविक खुशी भेट्टाउनै सकिन्न।

– सन्दीप न्यौपाने, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्