खेलाडीलाई बधाई



विभिन्न क्षेत्रमा अपेक्षा गरेअनुसारको उपलब्धि हासिल नभएका कारण असन्तुष्टि र असफलताको अनुभूति गर्दै आएका नेपालीलाई १३औं दक्षिण एसियाली खेलकुद (साग) ले केही हदसम्म सन्तोष र प्रसन्नता प्रदान गरेको छ। विभिन्न आरोह–अवरोहका बीच मंगलबार सम्पन्न भएको सागले प्रयास गर्दा सफल हुनसकिने पाठ पनि सिकाएको छ।

दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतले यसपटक पनि पदक तालिकामा शीर्ष स्थानमा रहँदै विगतको आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ। भारतले १ सय ७४ स्वर्णसहित ३ सय १२ पदक जितेको छ भने नेपालले ५१ स्वर्ण जितेर आफूलाई दोस्रो स्थानमा राख्न सफल भएको छ। नेपालले कुल २ सय ६ पदक जितेको छ।

विभिन्न अभावका बीचमा पनि नेपालले यसपटक आफ्नो उपस्थितिलाई मजबुत बनाएको देखिन्छ। नेपालका खेल पदाधिकारीले खेलाडीलाई जति महत्व दिनुपर्ने हो त्यो दिन नसक्दा पनि नेपालका खेलाडीले आफूलाई अब्बल सावित गर्दै विगतको नेपालको नाममा रहेको ३२ स्वर्णको रेकर्डलाई तोड्दै ५१ स्वर्ण जितेर इतिहास रच्ने काम गरेका छन्।

नेपालले खेल क्षेत्रलाई महत्व दिने हो भने यस्ता क्षेत्रीय खेलकुद प्रतियोगितामा मात्र होइन विश्वस्तरीय खेलमा समेत नेपालका खेलाडीले प्रतिस्पर्धा गर्न सक्नेमा दुईमत देखिँदैन। खेल सामग्रीको अभावमा पनि नेपालभन्दा सम्पन्न राष्ट्रलाई समेत पछि पार्दै नेपाली खेलाडीले नेपालको इज्जत राख्ने काम गरेका छन्।

राष्ट्रले खेल क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न नसकेको वर्तमान परिप्रेक्ष्यमा खेलाडीहरूको कडा परिश्रम र प्रशिक्षकको मेहनतको फलका रूपमा सागमा नेपाली खेलाडीहरूले प्राप्त गरेको सफलताको मुक्तकण्ठले प्रशंसा गर्नुपर्दछ।

नेपालभन्दा सुविधा सम्पन्न राष्ट्रमा जन्मेका खेलाडी र ती देशले खेलाडीमाथि गरेको लगानीको हिसाबले नेपालले निकै न्यून रकम खर्च गरेको देखिन्छ, तैपनि नेपाली खेलाडीले प्राप्त गरेको सफलताबाट नेपाल सरकार लगानी बढाउन प्रोत्साहित हुने अपेक्षा गर्नु अन्यथा हुने छैन।

आयोजक राष्ट्रको हैसियतले यसपटकको साग खेलकुद प्रतियोगिता सम्पन्न गर्न सरकारले झन्डै १ अर्ब रुपियाँको हाराहारीमा खर्च गरेको देखिन्छ। साग प्रतियोगितामा राज्यले खेलाडीमाथि वर्षको ५० करोड रुपियाँको हाराहारीमा लगानी गर्नसके पदक तालिकामा नेपालले भारतलाई टक्कर दिनसक्ने अवस्था देखिएको छ।

यसतर्फ सरकारको ध्यान जान जरुरी छ। नेपालले यसपटकको साग खेलकुद प्रतियोगिता बिनाव्यवधान सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिनैपर्छ। खेल आयोजनाका क्रममा विदेशी खेलाडीले समेत नेपालको आतिथ्यलाई हार्दिकतापूर्वक लिएका कारण साग खेलकुद प्रतियोगिता सफल भएको मान्न सकिन्छ।

सरकारले प्रतियोगिता नजिकिन थालेपछि मात्रै सबै तयारी गर्नेतर्फ अग्रसर हुने विगतको परम्परालाई तोड््नुपर्दछ। यसपटकको साग खेलमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई कामना न्यूज पब्लिकेसन्स्का तर्फबाट हार्दिक बधाई।

आगामी दिनमा खेलक्षेत्रले १३औं सागमा हासिल गरेको उपलब्धिलाई आधार मानेर यसभन्दा बढी सफलता हासिल गर्न सकोस्। अवसर पाएमा महिला क्षेत्रले राष्ट्रको नाम उच्च बनाउन सक्दारहेछन् भन्ने जुन नजिर कायम भएको छ, त्यसले निरन्तरता पाओस् !

प्रतिक्रिया दिनुहोस्