अफ्रिकी सुन्दरी जोजिबिनी मिस युनिभर्स



अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ६८औं मिस युनिभर्समा दक्षिण अफ्रिकाकी २६ वर्षीया सुन्दरी जोजिबिनी टुन्जीले ताज चुमेकी छिन्। आइतबार राती अमेरिकाको जर्जियास्थित एटलान्टामा भएको अन्तिम प्रतिस्पर्धामा अन्य देशका ९० सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स २०१९ को ताज उनले पहिरिएकी हुन्। यो उपाधि जित्ने उनी तेस्रो दक्षिण अफ्रिकी सुन्दरी हुन्।

सेतो छाला र लामो कपाललाई सुन्दरता मापनका रूपमा लिइए पनि अश्वेत वर्ण र ब्वाइजकट कपाल काटेकी उनले सुन्दरताको भौतिक परिभाषालाई यो ताज जितेसँगै गलत सावित गरिदिएकी छन्। ‘म यस्तो संसारमा हुर्किएकी हुँ, जहाँ मेरोजस्तो छाला र कपाल हुने महिलालाई कहिल्यै सुन्दर मानिँदैनथ्यो।

मलाई लाग्छ त्यो आजदेखि बन्द हुनुपर्छ’, प्रश्नोत्तर चरणमा उनको भनाइ थियो– ‘साना बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून्।’ स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज आफ्नो बनाएकी हुन्।

उनी लैंगिक हिंसाविरुद्ध काम गर्ने अभियन्ता हुन्। प्रतियोगितामा मिस पुर्टोेरिको म्याडिसन एन्ड्रसन फस्ट र मिस मेक्सिको सोफिया एरागन सेकेन्ड रनर्सअपमा सीमित भए।

प्रतिक्रिया दिनुहोस्