१३औं साग भव्यताका साथ सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण भव्यताका साथ मंगलबार सम्पन्न भएको छ। मंसिर १५ गतेबाट औपचारिकरूपमा निकै व्यवस्थित तरिकाले शुरू भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो।

समापन समारोहलाई भिडियो प्रविधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता व्यवस्थित र भव्यरूपमा सम्पन्न भएकोमा हर्ष व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले आगामी दिनमा खेलकुदको अझ विकासका लागि सरकारले पर्याप्त पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिकरूपमा सम्पन्न गरेकोमा हर्षित भएको बताउनुभयो। ३५ वर्षअघि नेपालबाटै शुरू भएको सागको १३औं संस्करण ऐतिहासिक सावित भएको चर्चा गर्दै उहाँले यो सफलताले विश्वसामु नेपालको शिर अझ उँचो भएको बताउनुभयो।

उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्यमबाट पनि विश्वसामु चिनिने उल्लेख गर्नुभयो।युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिकरूपमा सफल भएकोमा खुसी व्यक्त गर्दै सहभागी राष्ट्र, खेल व्यवस्थापक, खेलाडीलगायत सबैलाई धन्यवाद दिनुभयो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तोसुकै अवस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताउनुभयो।

समापनका अवसरमा १४औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिएको थियो। सो अवसरमा विभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिसबाजीलगायतका विशेष प्रस्तुति प्रदर्शन गरिएको थियो।

तस्वीर ः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्