महिला हिंसा नियन्त्रण गर्न कडा कानून ल्याउनुपर्छ: सभापति देउवा 



काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनामा वृद्धि भइरहेको बताउँदै त्यसलाई रोक्न सरकारले आवश्यक कार्य गर्न नसकेको आरोप लगाउनुभएको छ ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला हिंसाविरुद्धको अभियानको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेका छन्, महिला हिंसाका घटनालाई नियन्त्रण गर्नुको सट्टामा सरकारले लुकाउने काम गरेको छ ।”

सभापति देउवाले महिला हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टीले सदस्यतासमेत नदिने भन्दै यस्ता अपराध गर्नेलाई अझ बढी दण्ड र जरिवानाको व्यवस्था गर्न माग गर्नुभयो । महिला हिंसा गर्नेमाथि कडा कारबाही गर्न कडा कानून ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले महिला हिंसाका घटना परिवार, गाउँ, समाज र कार्यस्थलमा समेत हुने भएकाले त्यसको अन्त्य गर्न पार्टीले जागरण अभियान प्रशिक्षणमार्फत नै गर्ने बताउनुभयो । महामन्त्री डा शशांक कोइरालाले महिलामाथि हुने हिंसा अन्त्य गर्न पार्टीका सबै नेता कार्यकर्ता प्रतिबद्ध हुनपर्ने धारणा व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्