दोस्रो भीरकोट महोत्सव फागुनमा



नेपाल समाचारपत्र, स्याङ्जा।

भीरकोट उद्योग वाणिज्य संघले पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो भीरकोट महोत्सव तयारीमा जुटेको छ। ‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार’ भन्ने नारासहित संघले पत्रकार सम्मेलन गरेर फागुन १ गतेदेखि ११ गतेसम्म ११ दिन दोस्रो भीरकोट महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

प्रथम भीरकोट महोत्सव सफलता पुर्वक सम्पन्न गरेको भीरकोट उद्योग बाणिज्य संघले यो पटकको महोत्सव भने पर्यटन वर्षलाई लक्षित गरेर सञ्चालन हुने जनाएको छ। जिल्लाको मध्यभागमा रहेको भीरकोट नगरपालिका पर्यटकीय, सांस्कृतिक र कृषि क्षेत्र अग्र स्थानमा रहेको छ।

सम्भावनै सम्भावना रहेको नगरपालिकालाई पर्यटकीय, सांस्कृतिक र कृषि क्षेत्रको हब बनाउने उद्देश्यले दोस्रो महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा संघका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिनुभयो।

चार करोडसम्मको व्यपारीक कारोबार र तीन लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिई महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष केसीले बताउनुभयो। महोत्सवबाट बचेको रकमलाई संघले आफ्नै भवन निर्माण गर्ने, हाटबजारको व्यवस्थापन गर्ने, व्यवसायिक चेतना अभिबृद्धि गर्नेलगायतका उद्देश्य राखेर अगाडी बढिएको अध्यक्ष केसीले जानकारी दिनुभयो।

प्रथम महोत्सवमा १८ लाख बचाउन सफल भएको भीरकोट उद्योग वाणिज्य संघले दोस्रो महोत्सवमा ४० लाख बचाउने लक्ष्य राखेको छ। दोस्रो भीरकोट महोत्सवलाई भीरकोट नगरपालिकाले पूर्ण सहयोग गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा नगर प्रमुख छायाराम खनालले नीजि क्षेत्रसँग साझेदारीगर्दै स्थानीय सरकार अगाडी बढ्ने लक्ष्य अनुरूप उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवलाई सफल बनाउन पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महोत्सवमा दुई सय स्टल रहने छन्।

अटोमोवाईल, पशुपक्षी प्रदर्शनी कक्ष, फोटो प्रदर्शनी, शैक्षिक सामाग्री प्रदर्शनी, हस्तकला प्रदर्शनीलगायतका स्टल रहने आयोजकले जनाएको छ। भीरकोट नगरपालिका भित्र रहेका हरेक धार्मिक स्थल, पर्यटकीय क्षेत्र र कृषिका पकेट क्षेत्रलाई अध्ययन अवलोकनको व्यवस्था रहेको संघका महासचिव नुवादत्त अर्यालले जानकारी दिनुभयो।

‘महोत्सवमा आउने पर्यटकलाई स्वरेक मैदानबाट प्यारागलाईडिङ्मार्फत भीरकोट नगरपालिका हेर्ने व्यवस्था पनि मिलाएका छौं,’ महासचिव अर्यालले भन्नुभयो– ‘जसबाट आन्तरिक र बाह्य पर्यटकले भरपुर आनन्द लिन पाउनेछन्।’

११ दिनसम्म चल्ने महोत्सवले भीरकोट नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनुका साथै आर्थिक क्षेत्रमा समेत चलायमान हुने विश्वास आयोजकको छ।

जिल्लामा हुने अन्य महोत्सव भन्दा भीरकोट महोत्सव पृथक हुने दावी आयोजकको छ। भीरकोट नगरपालिका घोषणा भएसँगै स्थापना भएको भीरकोट उद्योग वाणिज्य संघले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। दोस्रो भीरकोट महोत्सव बयरघारीबजार स्थित सिसौघारीमा संचालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्