पाँच जनालाई क्याम्पस प्रवेशमा रोक



नेपाल समाचारपत्र, मोरङ।
इटहरीस्थित जनता क्याम्पसका विद्यार्थीहरू क्याम्पस प्रशासनविरुद्ध आन्दोलित भएका छन्। आइतबार क्याम्पसको मैदानमा धार्मिक कार्यक्रम गर्न दिएर पठनपाठनमा समस्या पारेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको विरोधमा क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएका हुन्।

उनीहरूले क्याम्पस व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनालाई क्याम्पस प्रवेशमा निषेध गरेको घोषणा गरेका छन्।विद्यार्थीहरूले विज्ञप्ती जारी गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रेवतीरमण भण्डारी, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, सहायक क्याम्पस प्रमुख गीता अधिकारी, टोलनाथ काफ्ले र युवराज सिटौलालाई क्याम्पस प्रवेशमा निषेध गरेको उल्लेख गरेका छन्।

आइतबार क्याम्पसको खेल मैदानमा क्रिस्चियन धर्मसम्बन्धि कार्यक्रमका लागि अनुमति दिएर विद्यार्थीहरूको पठनपाठनमा समस्या देखिएको भन्दै विद्यार्थी नेताहरू विरोधमा उत्रिएका थिए।
मुख्यमन्त्री सहभागी हुने कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै प्रहरीले विद्यार्थी नेता सहदेव काफ्ले, किरण विष्ट, सागर धमला, संगीत सन्तोष, प्रविण दाहाल, सोमनाथ घिमिरेलाई नियन्त्रणमा लिएर बेलुका छाडेको थियो।
क्याम्पसको खेल मैदानमा क्रिस्चियन धर्मसम्बन्धि कार्यक्रमका लागि अनुमति दिएर विद्यार्थीहरूको पठनपाठनमा असर गर्नु आपत्तिजनक भएको विद्यार्थीको भनाइ छ।

विद्यार्थीहरू पाँच घण्टासम्म हिरासतमा रहँदा क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदेखाएको भन्दै समितीका पाँच जनालाई क्याम्पस प्रवेशमा रोक लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्