‘अन्तिम मौका’ गुज्रिए पनि उद्योगी सम्पर्कविहीन



नेपाल समाचारपत्र, हेटौंडा।

नयाँ उद्योग स्थापनाका लागि जग्गा अभावको पीडा सहेको औद्योगिक क्षेत्र अटेरी गर्ने उद्योग/प्रतिष्ठानप्रति कठोर बने पनि ती सबै उद्योगले लिएर उपयोग नगरेका जग्गा फिर्ता लिन भने औद्योगिक क्षेत्र व्यवस्थापन कमजोर देखिएको छ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय ‘कठोर’ बने पनि अटेरी उद्योगप्रति ‘कारबाही’ प्रक्रिया अगाडि बढाउन सकेको छैन। कयौंपटक जानकारी गराउँदा पनि उद्देश्यअनुसार र तोकिएको समयमै उत्पादन नगरेका उद्योगलाई सचेत गराउँदै कार्यालयले करिब एक वर्षअघि नै ‘अन्तिम मौका’ दिएको थियो।

सम्झौताअनुसार कार्य नगरेका उद्योग÷प्रतिष्ठानलाई सचेत गराउँदै कार्यालयले सूचना प्रकाशन गरी सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको थियो। खारेजी भएको हेटौंडा कपडा उद्योग परिसर र विस्तारित नयाँ औद्योगिक क्षेत्रभित्र जग्गा बहालमा लिएर तोकिएको म्यादभित्र निर्माण कार्य नगरेका संस्थालाई ३५ दिनभित्र कारखाना भवन र आवश्यक भौतिक संरचना निर्माणको नक्सा पेस गर्न सार्वजनिक सूचना जारी गरिएको थियो।

ती उद्योग, प्रतिष्ठानले ६ महिनाभित्र उद्योग सञ्चालन नगरे सम्झौता रद्द गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयले चेतावनी दिएको थियो। हेटौंडा कपडा उद्योग २०५७ फागुनदेखि बन्द छ।

मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो। उद्योगका धेरै मेसिन हाल पनि लाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको छ।

उद्योगको क्षेत्र औद्यौगिक क्षेत्रलाई जिम्मा दिइएपछि त्यहाँ नयाँ औद्योगिक क्षेत्र निर्माण थालिएको छ। सरकारी निष्क्रियताका कारण २०६० मंसिरदेखि लिक्विडेसनमा गएको उद्योगको जमिनमा कम्तिमा नयाँ ५० उद्योग स्थापनाको तयारी थालिएको छ।

उक्त स्थानमा खाद्यान्न, इञ्जिनियरिङ, दाना र प्लाष्टिकलगायत उद्योग स्थापनाका लागि क्षेत्र तोकिएको छ।चालू, निर्माणाधीन तथा बन्द भएका गरी एक सय ४९ वटा उद्योग स्थापना भएको देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्र तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ।

तर, हाल औद्योगिक क्षेत्रमा एक सय ८ उद्योग चालू हालतमा छन् भने २२ वटा उद्योग निर्माणाधीन अवस्थामा छन्। राष्ट्रिय महत्वका हेटौंडा कपडा उद्योग, वनस्पति घ्यु उद्योगसहित ६ उद्योग हाल बन्द अवस्थामा छन्। हाल ४ चार हजार चार सय जनालाई रोजगारी दिइरहेको औद्योगिक क्षेत्रमा दैनिक ११ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने संयन्त्रसमेत छ।

औद्योगिक क्षेत्रले दुई हजार एक सय ७८ रोपनी जमिन भाडामा लगाएको छ। तर, सबै जमिनको उपयोग भने हुन सकेको छैन। मुलुकमा सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रले ५७ वर्षको यात्रा तय गरेको छ। २०२० मंसिर २० गते सेवा शुरु गरेको औद्योगिक क्षेत्रले वार्षिकोत्सव मनाएको हो।

औद्योगिक क्षेत्रमा सम्झौता गरी भाडामा लिएकाले उद्योग स्थापना नगर्दा जग्गा खाली बसेका छन्। तर, स्थापनाको पर्खाएमा रहेका उद्योगले जग्गा पाउन सकेका छैनन्। ती जग्गा फिर्ता लिएर अन्य उद्योगलाई दिन पहल गर्नुपर्नेमा सोको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन।

क्षेत्र व्यवस्थापक राजेन्द्रप्रसाद कँडेलले सूचना प्रकाशनपछि उद्योगहरू धमाधम सम्पर्कमा आएको बताउनुभयो। उहाँका अनुसार सूचना प्रकाशनपछि २७ उद्योगमध्ये ५ वटा सञ्चालनमा आएका छन्।

६ वटा असारसम्ममा सञ्चालनमा आउने उहाँको दाबी छ। तर, ५ वटा उद्योगलाई पटकपटक पत्राचार गरिए पनि सम्पर्कमा नआएको उहाँले जनाउनुभयो।कार्यक्रममा प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालले औद्योगिक विकासबिना मुलुकको समृद्धि सम्भव नभएको भन्दै स्थानीयस्तरसम्म औद्योगिकग्राम स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

प्रदेशले कानुन निर्माण गर्दा संविधानको अधिकारलाई टेकेर उद्योगलाई केही सहुलियत व्यवस्था गरिएको मन्त्री नेपालको भनाइ थियो। उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासबाट मात्र मुलुक सम्वृद्ध हुनसक्ने भन्दै मन्त्री नेपालले प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाको तयारी गरेको सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्