साउदीमा महिला पुरुष एउटै द्वारबाट छिर्न सक्ने



रियाद, (एजेन्सी)।

महिला र पुरुषबीच स्वतन्त्रता तथा हकलाई लिएर निकै भेदभाव रहेको साउदी अरेबियाले सोमबार उक्त भेदभाव हटाउने एउटा उदाहरणीय कदम चालेको छ। अबदेखि त्यहाँका रेस्टुरेन्टमा प्रवेश गर्न महिला तथा पुरुषले छुटाछुटै द्वारा प्रयोग गर्न नपर्ने भएको सरकारी सुत्रले जनाएको छ।

यस अघिसम्म जुनसुकै रेस्टुरेन्टमा पनि महिला तथा परिवार प्रवेश गर्ने एउटा र अन्य पुरुषहरू प्रवेश गर्ने अर्को द्वार राखिएका हुन्थे। हुनत केही समय अघिदेखि नै यस नियमलाई खुकुलो पारिँदै ल्याइएको थियो। थुप्रै रेस्टुरेन्ट र क्याफेले यस नियमलाई कडाइका साथ पालना गराउन छोडिसकेका थिए।

सरकार विरोधी राजनीतिज्ञमाथि दमन कार्य तीव्र पारिएसँग साउदी अरेबियामा सामाजिक सुधारका कार्यहरू पनि देखिन थालेका छन्। यसै वर्षको शुरूमा साउदी महिलालाई पुरुष अभिभावकको अनुमति बिना विदेश भ्रमणमा जान सक्ने शाही आदेश जारी भएको थियो।

यसैगरी सन् २०१८ मा साउदी सरकारले वर्षौंदेखि महिलामाथि लगाइँदै आएको सवारी हाक्ने प्रतिबन्ध फुकुवा गरेको थियो। तैपनि सामाजिक अभयन्ताले अझै पनि थुप्रै स्थानमा र विषयमा महिलाविरुद्धका भेदभावहरू कायमै रहेको गुनासो गर्ने गरेका छन्।

सरकारले समाजिक सुधार कार्यहरू जारी राखेको भए तापनि थुप्रै महिला अधिकारवादी अभियन्ताहरूलाई धमाधम पक्राउ पनि गर्दै आएको छ। तर अझै पनि क्याफे तथा रेस्टुरेन्टभित्र महिला तथा तिनका परिवारलाई अन्य पुरुषबाट टाढै राख्ने गरिएको छ। सन् २०१७ मा सलमान साउदी नरेश बनेदेखि विस्तारै सामाजिक सुधार हुन थालेको हो।

प्रतिक्रिया दिनुहोस्