८८ प्रतिशत मुद्दाको छिनोफानो

पछिल्लो ६ महिनामा १ सय ४० इन्जिनियर पक्राउ



मनोज रेग्मी, काठमाडौं

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले राजनीतिककर्मीको आडमा भ्रष्टाचारीले उन्मुक्ति पाउने विज्ञ तथा राजनीतिक विश्लेषकहरूले बताएका थिए। भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको राष्ट्रिय सदाचार सम्मान कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै पूर्वमन्त्रीपरिषद्का अध्यक्ष एवम् पूर्वप्रधानन्यायधीश खिलराज रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग खाली ‘हाई प्रोफाइल’ मुद्दामा केन्द्रित हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘ट्रान्परेन्सीको प्रसेप्सन इन्डेक्स हेर्दा नेपाल १२४औं स्थानमा छ। यो निकै नै दयनीय अवस्था हो।

सरोकारवाला निकायले ध्यान नदिँदा र नेपालको शैक्षिक अवस्था दरो नभएका कारण यस्तो भएको हो। मुलुकका हरेक स्थानीय तहमा जनचेतना फैलाउनु जरुरी देखिन्छ।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पछिल्लो ४ महिनाको अवधिमा दर्ता भएका ३ सय ५१ वटा मुद्दामध्ये ८८ प्रतिशतभन्दा बढीको छिनोफानो भइसकेको बताउनुभएको छ।

प्रमुख आयुक्त घिमिरेले भन्नुभयो– ‘नेपाल संघीयताको संक्रमणको चरणमा रहेको छ। हामीले हालसालै भ्रष्टाचार नियन्त्रणका प्रयासका सन्दर्भमा सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रमहरू गर्ने लक्ष्य लिएका छौं।’डिसेम्बर ९ अर्थात् भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना गरिएको उक्त कार्यक्रममा उहाँले अख्तियारले नयाँ आर्थिक वर्षमा १ सय १२ पटक कार्यालय खोलेर उल्लेखीय कार्य गरेको जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो– ‘वर्तमान अवस्थाको कुरा गर्दा सबैभन्दा बढी भ्रष्टाचार निर्माणसम्बन्धीका विषयमा भएको छ। हालसालैको कुरा गर्दा ५० भन्दा बढी ठेक्का तोडिएको र २४ खर्बभन्दा बढी रकम निर्माण व्यवसायीको हातमा छ। तर कार्य भने सन्तोषजन देखिएको छैन। यस्ता विषयहरू अनुसन्धानको चरणमा छन्।’

पूर्वमन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधान्यायाधीश खिलराज रेग्मीसहित अन्य विश्लेशकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालको वर्तमान निर्वाचन प्रणाली नै गलत भएका कारण निर्वाचन प्रणाली, राजनीतिक दलहरूको ज्याजती, पेटी करप्सन, ठूला आयोजनामा भएको अनियमितताका विषयमा प्रकाश पारिएको थियो।

यस्तै अख्तियार दुरूपयोग अनुसन्धानको पछिल्लो ६ महिनाको तथ्यांक केलाउँदा १ सय ४० इन्जिनियर पक्राउ परेका तथा आयोगले घूससहित नियन्त्रणमा लिएकाबाट १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपियाँ जफत गरेको छ।

प्रतिक्रिया दिनुहोस्