बर्दियामा होटल स्तरीकरण कार्य सुरु



विष्णु तिमिल्सिना, बर्दिया ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले खाद्य स्वच्छता सम्बन्धि अभिमुखीकरण गरी होटल, रेष्टुरेन्ट, भोजनालय र रिर्सोटहरुको स्तरीकरण कार्य बर्दियामा सुरु गरेको छ ।

उक्त कार्यालयले गुलरिया नगरपालिका स्थित उद्योग वाणिज्य संघको हलमा सरोकारवालासंग स्तरिकरणको निर्देशिकाको विषयमा अभिमुखीकरणपछि स्तरीकरण कार्य सुरु गरिएको हो ।

सो कार्यालयका प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठले होटल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याट्रिङ्ग एवं क्यान्टिन आदिमा खाद्य बस्तु स्वच्छता कायम गरि सर्व– साधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न होटल स्तरीकरणको उद्देश्य रहेको बताउनु भयो ।

साथै उहाँले निर्देशिकामा भएका व्यवस्था, स्तरीकरण सम्बन्धि व्यवस्था, खाद्य स्वच्छताको आधारमा होटल रेष्टुँरेन्ट स्तरीकरण मुल्याङ्कन सूचांकं, स्तरीकरणको लोगो, स्तरीकरणको प्रमाण पत्र, प्रतिबद्धता पत्र, स्तरीकरणको समयावधि, अनुगमन तथा निरीक्षण, स्थानीय खाद्य स्वच्छता समूह लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यालय प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा गरिएको सो कार्यक्रममा उपस्थित होटल व्यवसायी, संचारकर्मीको रोहबरमा होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रमलाई सहजीकरण गर्ने गरी एउटा समुह गठन गरिएको छ ।

समुहका सदस्यहरुको संलग्नतामा बर्दिया जिल्ला भित्रका होटल, रेष्टुरेन्ट तथा खाना पसलहरुको अनु गमन, मुल्याङ्कन गरी होटल स्तरीकरण र लोगो वितरण गर्ने निर्णय भएको छ ।

गठन भएको समुहमा होटल व्यवसायी संघको अधयक्ष तुल्सीप्रसाद तिमिल्सिना संयोजक र सदस्यहरुमा होटल,रेष्टुरेन्ट लगायत खाद्य व्यवसायीको लोकमणि खनाल, उपभोक्ता हकहित सम्बद्ध संस्थाको विष्णुप्रसाद तिमिल्सिना, स्थानीय तहको प्रतिनिधि सुधांसु प्रकाश शर्मा, स्थानीय सेवा प्रदायक खाद्य व्यवसाय संचालक हिमालय त्रिपाठी, इलाका-वडा प्रहरी कार्यालय का प्रतिनिधि, आमन्त्रित सदस्यमा होटल व्यवसायी संगिता थापा, स्थानीय संचारकर्मी र सदस्य सचिवमा खाद्य अनुसन्धान अधिकारी वा खाद्य निरिक्षक रहनु भएको छ ।

नवगठित समुहसहित सो कार्यालयको अनुगमन टोलिले बर्दिया जिल्ला मा होटल, रेष्टुरेन्टहरुको अनुगमन शुरु गरेको छ । अनुगमनमा वडा नं. ६ अन्तरगत बजारमा संचालित लोट्स गार्डेन रिर्सोटलाई स्तरीकरण गरी (ग) वर्गको लोगो र प्रमाण पत्र प्रदान गरेको छ ।

उक्त रिर्सोटले एक सय अंकमा ७९ अंक प्राप्त गरी स्तरीकरणको सन्तोषजनकको स्टिकर टाँस गर्ने पहिलो होटल भएको छ । त्यसै गरी गुलरिया वडा नं. ७ अन्तरगत रहेको विजया गेष्ट हाउसले पनि ७९ अंक प्राप्त गरी सन्तोषजनक स्तरीकरणमा परेको छ ।

गुलरिया ५ स्थित अर्घाखाँचीले ६३ अंक, वडा नं. ६ मा संचालित अर्यान्स रेष्टुरेन्टले ५४ अंक र वडा नं. ७ स्थित होटल न्यु मिररले ५१ अंक प्राप्त गरी (घ) वर्गको सामान्य स्टिकर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्