बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका



नेपाल समाचारपत्र, डोटी।

जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदिबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिदा समस्या देखिएको छ।

क्षमताभन्दा बढी बालकहरूलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बाल सुधारगृह स्थापना गर्नुका साथै भएका बाल सुधारगृहलाई व्यवस्थित बनाउनुपर्ने कानुन व्यवसायी शंकरदीप मडैले बताउनुभयो।

वि.सं. २०७५ साल भदौमा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कुल २५ जना बालकहरू बस्न सक्ने क्षमता भए पनि हाल ४८ जना बालकहरू बस्दै आएका छन्।

क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरूलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ। बाल सुधारगृहमा क्षमताभन्दा बढी बालकहरू राख्दा व्यवस्थापनलगायतका अन्य सेवासुविधा लुगाकपडा, खानबस्नमा पनि समस्या हुने गरेको बाल सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताउनुभयो।

‘बालकहरू बढी भएका कारण उनीहरूको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षामा समेत समस्या हुने गरेको छ, प्रमुख पौडेलले भन्नुभयो– ‘आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ।बढी बालकहरू भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षालगायतमा समेत समस्या हुने गरेको छ।’

बाल सुधारगृहको अवस्थाका बारेमा अनुगमन गरी समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराइसकेको समेत प्रमुख पौडेलले जानकारी दिनुभयो। क्षमताभन्दा बढी बालकहरू भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बाल सुधारगृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताउनुभयो।

‘क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरूको खानपान, बसाइदेखि सरसफाइ तथा सुरक्षामा निकै चुनौती थपिएको छ, उहाँले भन्नुभयो– ‘हामीले हाम्रो समस्याका बारेमा पटक–पटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन।’

बाल सुधारगृहमा रहेका ४८ जना बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो।

डोटी जिल्लामा रहेको बाल सुधारगृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका बालक रहेका छन्। सुदूरपश्चिम प्रदेशमा एक मात्र बाल सुधारगृह भएकाले यहाँ बालकहरूको बढी चाप रहेको बाल सुधारगृहका कर्मचारीहरू बताउँछन्।

क्षमताभन्दा बढी बालकहरूलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बाल सुधारगृह स्थापना गर्नुका साथै भएका बाल सुधारगृहलाई व्यवस्थित बनाउनुपर्ने कानुन व्यवसायी शंकरदीप मडैले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘गलत काम गरेर सुधारका लागि पठाइएका बालकहरूलाई फेरि दुःख दिनुभन्दा बरु बाल सुधारगृह नै सुधार गरे राम्रो हुने थियो।’ कानुनमा दण्डनीय काम गरेका बालकलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधारगृहमा राखी आचरण सुधार गर्नुपर्ने नेपाल सरकारको नीतिनियमअनुसार देशका अन्य ७ वटा जिल्लासहित सुदूरपश्चिम प्रदेशमा पनि बाल सुधारगृह स्थापना गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्