भीरकोटमा साप्ताहिक हाटबजार शुरू



नेपाल समाचारपत्र, स्याङ्जा।

भीरकोट नगरपालिकामा हरेक शनिबार सञ्चालन हुने गरी हाटबजार शुरू गरिएको छ। नगरपालिकाको सहयोगमा भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा हरेक साप्ताहिक हाटबजार शुरू गरिएको हो। हाटबजार शुरू भएपछि किसानहरू खुसी भएका छन्। विचौलीयाका कारण किसानहरू कृषिउपज उत्पादनको बिक्री गर्दा मर्कामा पर्दै आएका थिए।

हाटबजार सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको कृषिउपजलाई सोझै बिक्री गर्ने अवसर पाउने उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले बताउनुभयो। ‘किसानले उत्पादन गरेको तरकारीलाई बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याएका हौं, संघका अध्यक्ष केसीले भन्नुभयो– ‘उपभोक्तालाई महँङ्गो पनि नपर्ने, किसानले पनि उचित मूल्य पाउने अवस्था आउनेछ।’

यस हाटबजारले गर्दा अब विचौलीयका दिन गएको केसीको दाबी छ। कृषिउपज उत्पादनमा जिल्लाकै अग्रस्थानमा रहेको भीरकोटलाई हाटबजार सञ्चालनले किसानलाई राहत मिल्ने बताइएको छ। हाटबजारको उद्घाटन गर्दै नगरप्रमुख छायाराम खनालले हाटबजारले सानादेखि ठूला कृषकलाई अर्गानिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्नेछ।

‘उत्पादनमा बृद्धि हुने र व्यावसायिक कृषक बन्नेमा आफू विश्वस्त रहेको छु, नगरप्रमुख खनालले भन्नुभयो– ‘भीरकोटलाई कृषिको पकेट क्षेत्र बनाउन यो हाटबजारले सहयोग मिल्ने छ।’ भीरकोट नगरपालिकाको बयरघारी, सुन्दर बजार, हेलु बजारलगायतका व्यापारिक केन्द्रहरूलाई हप्ताको १ दिन शनिबार पसल बन्द गरेर हाटबजारमा सहभागी भई आफ्नो आवश्यकता पुरा गर्न खनालले सबैलाई आग्रह गर्नुभयो।

यस नगरक्षेत्रभित्र उत्पादित अर्गानिक ताजा तरकारी, फलफूल अन्नबाली, पशुपक्षी र घरेलु हस्तकलालगायतका विभिन्न सरसमानहरू सहज र सुपथ मूल्यमा बिक्री वितरण तथा किनमेल हाटबजारमा हुनेछ। हाटबजारको प्रचारप्रसार गर्न जरुरी रहेको छ स्थानीय समाजसेवी तोयनाथ अर्यालले भन्नुभयो– ‘गाँउका कुनाकुनामा रहेका कृषकको आत्मबल बढाइ उत्पादमा बृद्धि ल्याउन यो हाटबजारले सहयोग पुर्याउनुपर्छ।’

अब भीरकोवासीले सुपथ मूल्यमा ताजा तरकारी खान पाउने व्यवस्था यो हाटबजारले दिनेछ उनले भने। जिल्लाका ११ स्थानीय तहमध्ये भीरकोटले किसानहरूलाई सहज होस् भन्ने उद्देश्य राखेर हाटबजार शुभारम्भ गरेको छ।

जसले जिल्लाका जुनसुकै ठाँउमा उत्पादन भएको उपजलाई बिक्री गर्न किसानलाई सहज हुने संघका महासचिव नुवादत्त अर्यालले बताउनुभयो। डोकामा बोकेर बिक्री गर्न बाध्यता र विचौलीयालाई तरकारी बिक्री गर्न बाध्य भएका किसानहरूलाई हाटबजारले सहजता ल्याउनेमा किसानहरू विश्वस्त रहेका छन्। हाटबजारको सञ्चालनमा व्यवस्थित बनाउनसके भीरकोटको आर्थिक चलायमान हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्