राउटेलाई मेयरले दिए १० हजार



नेपाल समाचारपत्र, प्युठान। 

प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले राउटे मुखियालाई १० हजार रुपियाँ सहयोग उपलब्ध गराउनुभएको छ। आइतबार मेयर भेट्न पुगेका उनीहरूलाई कार्यकक्षमा स्वागत गर्दै मेयर कक्षपतिले आफ्नोतर्फबाट आर्थिक सहयोग गर्नुभएको हो। जंगलमा बस्दै आएका अल्पसंख्यक राउटेहरू आफूले बनाएका काठका सामग्री बेच्न घुम्दै फिर्दै शुक्रबार प्युठान पुगेका थिए।

सो क्रममा राउटे समुदायका मुखिया सुरेन्द्र शाहीसहितको चार जनाको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत भेटे। उनीहरू सहयोग माग्दै आफूले बनाएका काठका सामान उपहार दिँदै हिँडेका छन्।

जंगलमा लडिबुडी गर्दै आएका राउटे समुदायहरू अहिल बिस्तारै समाजमा घुलमिल हुन थाल्नु ठूलो उपलब्धि भएको मेयर कक्षपतिले बताउनुभयो। ‘जंगल छाडेर समाजका सामान्य नागरिकसरह जीवन अँगाल्न थाल्नु ठूलै परिवर्तन हो, –उहाँले भन्नुभयो।

यसअघि उनीहरूले सरकारले आफूलाई सहयोग गर्नुपर्ने माग गर्दै जिल्ला प्रसासन कार्यालय खलंगामा पुगी आफ्ना समस्या सुनाएका थिए। राउटेका मुखियासहितको टिमलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले खाना खुवाउनुभएको थियो।

मंसिर महिनामा मुख्य पर्व पर्ने भएकाले त्यसमा चढाउने बोका र चामलको जोहो गर्न उनीहरू सुर्खेतबाट प्युठान आइपुगेका हुन्। मुखिया शाहीले सम्पूर्ण राउटेहरूको नेतृत्व गर्दै प्युठान आएको र एक पर्व खर्च जुटाएर फर्किने उनीहरूले बताए। पर्व मनाउन पूर्वतयारी र आवश्यक नयाँ सामग्री खरिद गर्नुपर्ने भएकाले अन्य जिल्लाहरूमा अरु युवाहरू गएको मुखिया शाहीले बताए।

उनीहरू प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग भेट गरी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले उनीहरू प्युठान आइपुगेका हुन्। नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख, सुर्खेत र अछामको जंगल क्षेत्रको आसपासमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्