समाचार प्रभाव : द्वन्द्वपीडित सुभद्राको घर बन्दै, मेयरले प्रतिबद्धता पूरा गर्दै



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ की ७० वर्षीया सुभद्रा दर्नालको पानीसमेत नओत्ने घर अहिले भत्काइएको छ। तीन महिनाअघि नेपाल समाचारपत्रमा पीडित सुभद्राको विषयमा समाचार प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले द्वन्द पीडित सुभद्राको घर बनाइने प्रतिबद्धता जनाएअनुसार सुभद्रा बस्ने घर भत्काइएको हो।

सुभद्रा वषौंदेखि बस्दै आएको घर भत्काएर नयाँ घर बनाउनका लागि शुरू गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो। आफूले जतिसक्दो छिटो उहाँको घर बनाउनको लागि ठेकेदारलाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो। घर निर्माणको जिम्मा मजदुर संगठन क्युपेक मकवानपुरले लिएको छ।

बढीमा डेढ महिनासम्ममा घर बनाइसक्ने लक्ष्य आफूहरूले लिएको क्युपेक मकवानपुरका अध्यक्ष प्रताप राईले बताउनुभयो।घर बन्न लागेपछि सुभद्रा दर्नाल दंग पर्नुभएको छ। वषौंपछि आफ्नो खोसिएको खुसी थोरै भए पनि फर्किएको उहाँले बताउनुभयो। उहाँले छोराहरूको अभाव मेयर महतले पूरा गरिदिएको बताउनुभयो।

हेटौंडा उपमहानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा सुभद्राको घर निर्माण हुन लागेको हो। नेपालमा भएका दुई ठूला आन्दोलन २०४६ र २०५२ सालपछिको माओवादी सशस्त्र संघर्षका क्रममा उहाँका चार छोराले प्राणको आहुती दिएका थिए।

यो विषयको समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले दशैं खर्च उपलब्ध गराउँदै घरसमेत बनाइदिने प्रतिबद्धता जनाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्