लोकतन्त्रमा कानुनभन्दामाथि कोही छैन : खरेल



नेपाल समाचारपत्र, भद्रपुर ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले लोकतन्त्रमा कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ। जिल्ला सरकारी वकिल झापाको नवनिर्मित भवनको आइतबार बिहान उद्घाटन गर्दै पूर्वकानुन मन्त्रीसमेत रहनुभएका खरेलले ठूला व्यक्ति नै किन नहुन उनीहरूले कानुनको मातहातमा बस्नुपर्ने घटनाक्रममले देखाइसकेको बताउनुभयो।

‘ठूला मानिसलाई पनि कानुनले कैद गर्छ,’ महान्ययधिवक्त खरेलले भन्नुभयो– ‘जस्तो सुकै मान्छे भए पनि कानुनको दायरमा आउने गरेको छ।’ मान्छे पक्राउ पर्ने बित्तिकै भनसुन गर्ने कुरा अबको समयमा लागू नहुने उहाँको धारणा थियो। थुनेर मात्रै अनुसन्धान हुनसक्ने प्रहरीको परिपाटी जायज नभएको उहाँको भनाइ थियो।

‘समाजमा छाउपडीजस्ता अन्धविश्वासका कारण अकालमा महिलाको ज्यन गइरहेकोले कानुनलाई लागू गर्ने तयारीमा रहेको छ, उहाँले भन्नुभयो– ‘छाउपडीमा पठाउने र जाने दुवैलाई अनुसन्धानको दायरमा ल्याइनेछ।’ अदालतले अपराधी नठहराउने मुद्दालाई मुद्दाका रूपमा नलैजान प्रहरी र सरकारी वकिललाइ निर्देशन दिनुभयो।

अर्को प्रसंगमा झापा लागूऔषधको ट्रान्जिट प्वाइन्टको रूपमा विकास भएको बताउनुभयो। ‘कारागार प्रतिसोधगृह होइन सुधारगृह हो’–उहाँले भन्नुभयो।
सरकारी वकिलको भवन उद्घाटन

सम्झौता भएको २६ महिनामा झापा सरकारी वकिलको भवन निर्माण सम्पन्न भएको छ। आवाससहित साढे तीनतले भवनलाई आइतबार बिहान महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गर्नुभयो।

पाँच कठ्ठा तीन धुर क्षेत्रफलमा निर्माण भएको भवनमा पीडितमैत्री कक्ष, बयान कक्ष, पुस्तकालय तथा अतिथि कक्षलगायत गरी २६ वटा कोठा रहेका छन्। जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले भवनको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।

ह्र्याविटेड आशिषदीप जेभीले ०७४ असोज ९ गते ३ करोड ७१ लाख ९० हजार १ सय ८७ रुपियाँ ५३ पैसा लागतमा निर्माण कार्य शुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्