सिद्धबाबामा सुरुङ मार्गको लागि पौष मसन्ताभित्रै टेन्डर : मन्त्री नेम्वाङ



नेपाल समाचारपत्र, बुटवल।

ज्यानमारा सडकका रूपमा परिचित बुटवल–पाल्पा सडकअन्तरर्गत सिद्धबाबा खण्डमा एक महिनाभित्र सुरुङ मार्गको टेन्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताउनुभएको छ।

तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिब १ किलोमिटर भन्दा बढी लम्बाइको सुरुङ मार्ग निर्माणका लागि डीपीआर निर्माणको काम पूरा भएको र एक महिना भित्रै टन्डर आह्वान हुने मन्त्री नेम्वाङले बताउनुभएको हो।

प्रेस संगठन नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले सुरुङ मार्ग निर्माणका लागि लगानी सुनिश्चितता भइसकेकाले टेन्डर प्रक्रृया पूरा भएपछि निर्माणको कामसमेत तत्कालै शुरू हुने बताउनुभयो।

यस क्षेत्रमा भएका पूर्वाधार निर्माणको स्थलगत अवलोकनका लागि आउनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले भैरहवा लुम्बिनी सडक समयमा निर्माण पूरा नगरेको भन्दै निर्माणको जिम्मा लिएको ठेक्केदार कम्पनीसँग दुई वटा पुलको ठेक्का रद्ध गर्नेसमेत उहाँले जानकारी गराउनुभयो।

त्यस्तै आगामी दुई वर्षभित्रै सक्नेगरी भैरहवा लुम्बिनी सडकका ५ वटै पुललाई सडक साइजमा ४ लेनमा एक्सपान्सन गरिने उहाँले बताउनुभयो।उहाँले प्रदेश पाँचका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा ७० वटा मोटरेवल पुल निर्माणाधीन रहेको र ३५ वटा पुल यसै आर्थिक वर्षमा निर्माण पूरा गर्न आयोजनाका प्रमुखलाई निर्देशन गरेको जानकारी गराउनुभयो।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर लुम्बिनी तथा आसपासका निर्माणाधीन सडकमा यही डिसेम्बरभित्रै धुलो नउड्नेगरी व्यवस्थापन मिलाउन निर्देशन गरेको पनि जानकारी गराउनुभयो।

जंगलका रूख कटान तथा जग्गा प्राप्तिमा समस्या भएका कारण नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाइ भएको बताउँदै ती समस्या समाधान भइसकेकाले अब निर्माणको कामले गति लिने बताउनुभयो। त्यस्तै उहाँले आगामी आर्थिक वर्षबाट पूर्वपश्चिम रेलमार्ग निर्माणको कामसमेत अगाडि बढ्ने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्