१२ स्थानीय तहमा अझै बैंक पुगेनन्

खोलौं बैंक खाता अभियानले खाता बढायो, पहुँच बढाएन



परिवर्तन देवकोटा, काठमाडौं।

देशभर रहेका ७५३ स्थानीय तहमध्ये १२ वटामा अझै बैंकिङ पहुँच नपुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले विभिन्न १२ स्थानीय तहमा बैंकिङ पहुँच नपुगेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।संघीयता लागू भएपश्चात कुल ७ सय ५३ वटा स्थानीय तह रहेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म ७ सय ४१ तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ। सबै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने लक्ष्य अनुरूप राष्ट्र बैंकले स्थानीय तहमा बैंक पुर्याउने काम गर्दै आएको छ। यद्यपि, चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ७ सय ४१ स्थानीय तहमा मात्रै बैंक पुगेको देखिएको छ।

प्रदेश १ को १ सय ३७ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तहमा बैंक पुगेको छ। राष्ट्र बैंकका अनुसार यस प्रदेशअन्तर्गत ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बैंक पुगेको छैन। यसैगरी प्रदेश २ को १ सय ३६ स्थानीय तहमध्ये १ सय ३४ स्थानीय तहमा मात्रै बैंक पुगेको छ। राष्ट्र बैंकका अनुसार, यस प्रदेशअन्तर्गत पर्साको जिराभवानी गाउँपालिका र धनुषाको धनुषाधाम नगरपालिकामा बैंक पुगेको छैन।

त्यस्तै प्रदेश ३ को १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तहमा मात्रै बैंक पुगेको छ। यस प्रदेशअन्तर्गत धादिङको रुवीभ्याली गाउँपालिका र नेत्रावती गाउँपालिकामा बैंक पुगेका छैनन्। यसैगरी गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये १ स्थानीय तहमा बैंक नपुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार, यस प्रदेशअन्तर्गत मनाङको नार्फु गाउँपालिकामा बैंक पुगेको छैन। सबै स्थानीय तहमा बैंक पुग्ने पहिलो प्रदेश, प्रदेश नम्बर ५ बनेको छ। यस प्रदेशको सबै (१ सय १९) स्थानीय तहमा बैंकको पहुँच पुगेको राष्ट्र बैंकले जनाएको छ। यसैगरी कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमामात्रै बैंक पुगेको छ।

यस प्रदेशअन्तर्गत जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बैंक पुग्न बाँकी रहेको छ।यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा मात्रै बैंक पुगेको छ।

यस प्रदेशअन्तर्गत बाजुराको ३ र बझाङको २ स्थानीय तहमा बैंक पुगेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार बाजुराको पाण्डव गुफा गाउँपालिका, स्वामी कार्तिक गाउँपालिका र गौमुल गाउँपालिकामा बैंक पुगेको छैन। साथै बझाङको काँडा गाउँपालिका र थलारा गाउँपालिकामा बैंक पुग्न सकेको छैन।

पूर्वाधार अभाव

पूर्वाधार अभावमा केही स्थानीय तहमा बैंकको पहुँच पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपाल समाचारपत्रसँगको कुराकानीमा कतिपय स्थानीय तहमा बैंक पुर्याउने कार्य भइरहेको भए पनि पूर्वाधार अभावमा सहज नभएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘केही गाउँपालिकामा पूर्वाधार नै छैन, केही गाउँपालिकामा मानिस नै थोरै छन्, यस्तो हुँदा बैंक लैजान गाह्रो हुन्छ।’ उहाँले बैंक हुनका लागि आवश्यक पूर्वाधार नै नभएपछि त्यो ठाउँमा बैंक पुर्याउन सकस हुने उल्लेख गर्नुभयो। उहाँले विस्तारै आवश्यक पूर्वाधार विकास गरेर ती स्थानमा बैंक पुर्याउनेसमेत बताउनुभयो।

“खोलौं बैंक खाता अभियान”

सरकारले सबै नागरिकमा बैंकिङ पहुँच पुर्याउने लक्ष्य अनुरूप २०७६ वैशाख १ गते नयाँ वर्षको अवसर पारी ‘खोलौं बैंक खाता अभियान’को शुभारम्भ गरेको थियो। सरकारले सबै नेपालीमा बैंकिङ पहुँच पुर्याउने लक्ष्य सारे पनि त्यो पूर्ण रुपमा पूरा हुन सकेको छैन।

राष्ट्र बैंकका प्रवक्ता निरौलाले अहिले २ करोड ६४ लाख नेपाली जनसंख्यामा बैंक खाता पुगेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सबै नेपालीलाई बैंकको पहुँच पुर्याउने लक्ष्य अघि सारिए पनि कतिपय स्थानमा पूर्वाधारको विकास हुन नसक्दा बैंक पुर्याउन नसकिएको समेत उहाँले बताउनुभयो।

यद्यपी यो संख्यामा बैंकको पहुँच पुग्नु सकारात्मक भएको उहाँले प्रतिक्रिया दिनुभयो। नेपालीमा बैंकिङ पहुँचमा वृद्धि हुँदै गए पनि ऋणीको अवस्था भने निराशाजनक देखिएको छ। कर्जाका लागि बैंकको लामो प्रक्रिया र झन्झटिलो व्यवस्थाका कारण ऋणीको अवस्था निराशाजनक रहेको हो।

प्रतिक्रिया दिनुहोस्