प्राधिकरणको आँखा दुर्गमका विमानस्थललाई पाखा



डा. भगवान खड्का, काठमाडौं।

नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक गरी ५५ वटा विमानस्थल छन् । यी विमानस्थलमध्ये १६ वटा बन्द र ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, धनगढी, गौतम बुद्ध, नेपालगन्ज र सिमरा गरी सातवटा विमानस्थलमा रात्रीकालीन सेवा सञ्चालन गर्न सकिन्छ।

अहिलेसम्म चालू अवस्थामा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो भने निर्माणाधीन अवस्थामा रहेका पोखरा क्षेत्रीय, निजगढ अन्तर्राष्ट्रिय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमा सञ्चालनमा आउने बताइएको छ।

उड्डयन प्राधिकरण सन् १९९८ डिसेम्बर ३१ मा स्थापना भएपश्चात् देशभरका विमानस्थलको नियमन गर्दै आएको छ। प्राधिकरणमा १ हजार ६५ दरबन्दी रहेको भए पनि हाल ७ सय ८३ जना कर्मचारी कार्यरत छन्।

प्राधिकरणको स्वीकृत दरबन्दीमा ६ सय ४४ प्राविधिक र १ सय ३९ अप्राविधिक तथा ६ जना पाइलट रहेका छन्। दुर्गम जिल्लाका विमानस्थलमा भने एयर ट्राफिक कन्ट्रोलरबाहेक अन्य कुनै कर्मचारीको दरबन्दी नरहेको पाइएको छ।

बाग्लुङ बलेवा, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, जुफाल, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा मनमाया राई, लामीडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, चौरजहारी, सल्ले, रुम्जाटार, साँफेवगर, सिमरा, सिमकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी, थामखर्क, तुमलिङ्टार विमानस्थल गरी अहिले सञ्चालनमा रहेका छन्।

बन्द अवस्थामा रहेका विमानस्थलहरू बैतडी, बझाङ, दार्चुला, ढोरपाटन, डोल्पा, मसिनेचौर डोटी, जिरी, कागेलडाँडा, लाङटाङ, हुम्दे, मेघौली, महेन्द्रनगर, पालुङ्टार, रोल्पा, स्याङबोचे, टिकापुर गरी जम्मा १६ वटा रहेका छन्।

हाल निर्माणाधीन अवस्थाका विमानस्थलमा अर्घाखाँची, गुल्मी, इलाम, कालीकोट, कमलबजार र खिजी चण्डेश्वरी गरी ६ वटा रहेका छन्। उल्लिखित विमानस्थलमध्ये ३२ वटा पिच गरिएका छन् भने ६ वटा पिच गरिने योजनामा परेका छन्।

हवाईजहाज सञ्चालनको इतिहास २००६ सालदेखि शुरू भएको नेपालमा हाल ३० वटा विदेशी विमान कम्पनीले उडान गर्दै आएका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०१८ मा यी कम्पनीका आगमन र प्रस्थान गरेर ३३ हजार ९ सय ३३ उडान भएका थिए। यसै गरी यी उडानमा ४३ लाख ४२ हजार ४ सय ८६ जनाले यात्रा गरेका थिए। यी उडानमा २० हजार ५ सय ५३ टन कार्गो भएको जनाइएको छ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म सञ्चालित छ। नेपालमा निकट भविष्यमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल र एक क्षेत्रीय विमानस्थल हुने भए पनि पछिल्लो सिरिजका ३८० जहाज अवतरण गर्ने पूर्वाधारका विमानस्थल भने हुने छैनन्।

निर्माणाधीन अवस्थामा रहेको निजगढ विमानस्थललाई ३८० को जहाज अवतरण गर्न सक्ने अवस्थामा निर्माण गरिएमा नेपालको हवाई उड्डयन क्षेत्रमा ठूलो छलाङ लगाउने अवस्था हुने थियो।

तर यो सुनौलो अवसर नेपालले गुमाउन लागेको अवस्था छ। यसतर्फ नीति–निर्माता र सरकारको ध्यान नगएको नाम नबताउने सर्तमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च तहका कर्मचारी बताउँछन्। नेपालमा कर्मचारीले मात्र चाहेर हुने अवस्था छैन।राजनीतिक नेतृत्वको दूरदर्शितामा भरपर्ने भएकाले यो अवस्था आएको बताउँछन्।

नेपालमा हाल २० वटा हवाई कम्पनीहरू सञ्चालनमा रहेका छन्। ती हवाई कम्पनीहरू एयर डाइनेस्टी, अल्टिट्युड एयर, बुद्ध एयर, समिट (गोमा) एयर, फिसटेल एयर, हेली एभरेस्ट, हिमालय एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकोप्टर्स, नेपाल एयरलाइन्स कर्पोरेसन, श्री एयरलाइन्स, प्रभु हेलिकोप्टर, सौर्य एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर, यति एयरलाइन्स र कैलाश हेलिकोप्टर रहेका छन्।

आन्तरिक हवाई कम्पनीहरूले सन् २०१८ मा प्रस्थान र आगमन गरेर ९५ हजार ५ सय ८० उडान गरेका थिए। प्राधिकरणका अनुसार यी उडानबाट २८ लाख ४७ हजार ७ सय ५२ जनाले यात्रा गरेका थिए। उल्लिखित उडानबाट ३ हजार ६ सय ९४ टन कार्गो ओसारपसार भएको जनाइएको छ।

प्र्राधिकरणका एक उच्चतहका कर्मचारीले नाम नबताउने सर्तमा विमानस्थल नबनेका जिल्लामा राजनीतिक पहुँचकै आधारमा विमानस्थल बनाउन पहल भइरहेको र केही स्थानमा अध्ययनसमेत भइरहेको बताउँछन्।

विमानस्थल खोलेर सञ्चालन गर्न नसक्ने हो भने पुँजी खर्च बेकार भई उपलब्धि शून्य अवस्था झर्छ। त्यसैले नयाँ विमानस्थल खोल्नुभन्दा बन्द विमानस्थल सञ्चालनमा ल्याउनेतर्फ ध्यान पुर्याउनुपर्ने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्