उत्पादनमा लाग्ने कृषक सम्मानित



पोखरा ।

उत्पादनमा लगानी गरी रोजगार अभिवृद्धि गर्ने लक्ष्यका साथ सञ्चालित यहाँको एक कृषि सहकारीले उत्पादनमा लाग्ने कृषकलाई सम्मान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं २१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले १४औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाबाट ऋण लिएर उत्पादनमा अभिवृद्धि गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको हो ।

संस्थाबाट रु ३० हजार ऋण लिएर व्यावसायिक मौरीपालन विस्तार गर्नुहुने पौरखी युवा कृषक खेमराज भण्डारी एवं लघु उद्यमी महिला सम्झना भण्डारी र गोमा अधिकारीलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

सहकारीले आव २०७५/७६ मा कृषितर्फ रु ७५ लाख, फलफूलतर्फ रु २५ लाख, पशुपालनतर्फ रु एक करोड, पशुपालनमा रु एक करोड ५० लाख छुट्याएको छ ।

त्यस्तै महुरीपालनतर्फ रु पाँच लाख, लघु उद्यमतर्फ पाँच लाख, शैक्षिकतर्फ रु ३० लाख , बैंक स्रोत तरकारी एवं पशुपालन कर्जातर्फ रु ७५ लाख कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीले यही आवमा कृषि तथा पशुपालनमा १०३, आयआर्जन १०२, वैदेशिक रोजगार प्रवद्धन २६, युवा स्वरोजगार ३६ र अन्य १४३ जना गरि कूल ४१० जना शेयर सदस्यलाई रु आठ करोडभन्दा बढी रकम लगानी गरिएको छ ।

सरकारीद्वारा यस वर्षको युवा तथा स्वरोजगार कोषसँगको सम्झौता अनुरुप दोस्रो किस्ता रु २५ लाख स्थानीय १९ जना शेयर सदस्यलाई लगानी गरी सकिने बताउँदै उहाँले उत्पादनतर्फ १२, आयआर्जनमा १३ र अन्य कर्जामा १४ प्रतिशतका दरले ब्याज निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

सहकारीले पशु सेवा केन्द्र पोखरा २१ को सिफारिसमा प्राप्त पशु नश्लसुधार अनुदान कार्यक्रमअन्तर्गत रु ५० हजारको लागतमा उन्नत जातको ब्याडे रागो खरीद गरी शेयर सदस्य यामप्रसाद गौतमलाई पालनपोषणका लागि जिम्मा लगाइएको अध्यक्ष पौडेलले राससलाई जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा तीन वर्ष विताएर स्वदेश फर्किएर सहकारीबाट रु ३० हजार ऋण लिएर ४८ हजारको लागतमा छ वटा घारबाट शुरु गरेका स्थानीय युवा खेमराज भण्डारीले एक वर्षको अवधिमा विस्तार गरेर २० घार मौरी पुर्याउनुभएको छ ।

उहाँले आगामी दिनमा ५० घार पुर्याउने र मह बिक्रीबाट वार्षिक १२ देखि १५ लाख आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ । कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सहकारी व्यवस्था ऐन निर्माणसँगै महानगरमा दर्ता भएका विभिन्न प्रकृतिका तीन हजार ४५० सहकारीको व्यवस्थापन गरिने तयारी भई रहेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा प्रत्यक सहकारीको अनुगमन गरी कार्य क्षमता र लगानीको प्रकृतिका आधारमा मूल्याङ्कन गरिने जानकारी दिनुभयो ।

पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार पर्यटकीय क्षेत्र निर्मलपोखरी र कृतिनाच्ने चौरमा कृषि सहकारीको माध्यमबाट कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ ।

पर्यटकीय नगरी पोखरासँगै विभिन्न ताल तलैयासहित आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमालको रुपले परिचित माछापुच्छ्रे, धवलागिरिलगायत लमजुङ हिम श्रृखलाको मनोरम दृष्यावलोकन गर्न सकिने बताउँदै उहाँले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिइएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्